काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूले बोल्दै गर्दा आवेगमा आएर माइक काटेको भन्दै गुनासो गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राईले सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिन सुरु गरेपछि सभामुख अर्यालले उनको माइक बन्द गरिदिएका थिए । त्यसपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
बैठक पुनः सुरु भएपछि बोल्ने अवसर पाएका सांसद राईले आफूले प्रयोग गर्न लागेको शब्द नै नसुनी माइक काटिएको भन्दै असन्तुष्टि जनाए । सभामुखप्रति आफूलाई सधैँ सम्मान र आदर रहेको उल्लेख गर्दै उनले आफ्नो धारणा राख्ने अवसर भने नपाएको बताए ।
उनले आफूले भाषा मिलाएर कुरा राख्न खोजिरहेको अवस्थामा माइक काटिनु उचित नभएको टिप्पणी गर्दै सदनमा सांसदहरूले आफ्ना भावना व्यक्त गर्न पाउनुपर्ने बताए । आफ्नो अभिव्यक्ति संसदीय विधिभित्रै रहेको दाबी गर्दै सरकारले भने विधि मिच्ने काम गरिरहेको आरोप लगाए ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नदेखिएको आरोप लगाउँदै संसदले बोलाउँदा उपस्थित नहुने र जवाफदेहिताबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले आफूले प्रधानमन्त्रीको जवाफदेहिताका विषयमा सशक्त रूपमा धारणा राख्न चाहेको भए पनि माइक काटिएपछि त्यसो गर्न नपाएको बताए ।
राईले आवेगमा गरिएका निर्णयले संसदमा अनावश्यक समस्या निम्त्याउने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया