साउनदेखि मधेसबाहेक सबै प्रदेशमा सरकार फेरबदलको तयारी, बागमतीमा एमालेको दाबी

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको आलोपालो नेतृत्वको पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने तयारी भएको छ ।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पूर्वसहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए । उनका अनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना छैन ।

थपलियाले मधेसबाहेक अन्य सबै प्रदेशमा साउनको पहिलो सातादेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने दाबी गरे । कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल गरेर टुंगो लगाइने उनले बताए ।

उनले बागमती प्रदेशमा हाल पूर्वसहमतिअनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै अब नेतृत्व एमालेले पाउने दाबी गरे ।

‘एमाले र कांग्रेसबीच सबै प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने पूर्वसहमति छ । त्यसअनुसार साउनको पहिलो सातादेखि मधेसबाहेक सबै प्रदेशमा नयाँ सरकार गठन हुनेछ । कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने निर्णय दुवै दलका शीर्ष नेताले छलफल गरेर गर्नेछन्उ,’नले भने ।

थपलियाले संसदीय प्रणालीअनुसार प्रदेश संसदीय दलको नेताले नै मुख्यमन्त्री बन्ने व्यवस्था रहेको उल्लेख गर्दै बागमती प्रदेशमा यसपटक एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आफ्नो दाबी पनि स्वाभाविक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?