कांग्रेस इतर पक्षको बैठकमा के-के भयो छलफल ?

लोकपथ
707
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको बैठक पनि सुरु भएको छ ।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा देखिएको विवाद तथा पार्टीको पछिल्लो अवस्थाबारे धारणा राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेताहरू र केन्द्रीय सदस्यहरूले प्रयास गरे पनि पछिल्ला पाँच महिनामा पार्टी एकताका लागि कुनै ठोस उपलब्धि हासिल हुन नसकेको बताए ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली कांग्रेसभित्र बलियो एकता अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी पहल गर्न नसकेको आरोप लगाए ।

बैठकले आगामी साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ । साथै, मंगलबार पुनः बैठक बसेर स्मृति दिवसको कार्यक्रम, स्थान र विस्तृत कार्यतालिका तय गर्ने निर्णय पनि गरिएको छ ।

नेता विश्वकर्माका अनुसार आगामी बैठकले १५औँ महाधिवेशनको कार्यतालिका, सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने गतिविधि तथा संगठन विस्तारका विषयमा पनि निष्कर्ष निकाल्नेछ ।

पार्टीभित्रको आन्तरिक विवादबारे टिप्पणी गर्दै विश्वकर्माले वर्तमान नेतृत्वकै कारण पार्टी एकतामा बाधा पुगेको दाबी गरे । विशेष महाधिवेशनको अडानका कारण कांग्रेसले अघिल्लो निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको र प्रतिनिधिसभामा ८९ सिटबाट ३८ सिटमा सीमित हुनुपरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?