काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक गाडी खसेर एक जनाको मृत्यु तथा चार जना अझै बेपत्ता रहेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै प्रतिनिधिसभामा सांसदहरूले कडा आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको घटनाबारे अहिलेसम्म सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
उनले ‘कर्णाली नेपालमा पर्छ कि पर्दैन ? विपद्का बेला राज्य किन बेखबर हुन्छरु आकाशमा मन्त्री उडिरहँदा नदीमा नागरिक डुबिरहेका थिए,‘भन्दै सरकारको आलोचना गरे ।
शाहीले कर्णालीका नागरिकको जीवनको मूल्य सरकारले स्पष्ट गर्नुपर्ने भन्दै दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न सभामुखमार्फत सरकारलाई ‘रुलिङ’ गर्न माग गरे । उद्धारमा भएको ढिलाइको जिम्मेवारीसमेत निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि दुर्घटनाबारे सरकारले तत्काल जानकारी गराउन माग गरिन् । प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ भने पनि कर्णालीवासीले मृत्यु भएपछि मात्र स्वर्ग देख्नुपर्ने अवस्था आएको हो भन्दै उनले सरकारसँग प्रश्न गरिन् ।
थापाले कर्णालीप्रति राज्यको चरम बेवास्ता भएको आरोप लगाउँदै कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारसँग माग गरिन् ।
असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी खसेको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया