काठमाडौं । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले लगातार वर्षा हुन थालेपछि पानी जम्ने स्थानमा डेंगु सार्ने लामखुट्टे बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्ने बताएका हुन् ।
उनका अनुसार आकाशबाट परेको पानी सडक, घर वरिपरिका खाल्डाखुल्डी तथा अन्य भाँडाकुँडामा जम्दा त्यही पानीमा डेंगु सार्ने लामखुट्टेले फूल पार्ने र त्यसबाट लार्भा विकास हुने गर्छ । ती लार्भा वयस्क लामखुट्टे बनेर मानिसलाई टोकेपछि डेंगु सङ्क्रमण फैलिने उनले बताए ।
डा.दाहालले असार ९ देखि १५ गतेसम्म देशभर ६३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै आगामी दिनमा वर्षा निरन्तर भइरहे सङ्क्रमण अझ बढ्न सक्ने चेतावनी दिए ।
उनले डेंगुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी र पानी जम्ने भाँडाकुँडा नियमित सफा गर्ने, सरसफाइमा विशेष ध्यान दिने तथा सुत्दा झुलको प्रयोग गर्न आग्रह गरे ।
डा। दाहालका अनुसार नेपालमा डेंगुको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म उच्च रहने गर्छ । उनले डेंगु सार्ने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने भएकाले त्यस्ता सम्भावित स्थानको पहिचान गरी नियमित सरसफाइ गर्नु नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया