मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको ‘मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई शीघ्र स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा विकास गरिने योजना रहेको जानकारी दिए ।
उनले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएकाले कोरला राजमार्गलाई पर्यटनसँग जोडेर विकास गरिने बताए । साथै मुस्ताङ–डोल्पा सडक निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा उच्च हिमाली भूगोलका कारण पर्यटकमा ‘लेक लाग्ने’ समस्या बढ्दै गएको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि पर्यटक ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सरोकारवाला निकायले पहल गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यवसायीका प्रतिनिधिहरूले मुस्ताङको पर्यटन क्षेत्रका सम्भावना, पूर्वाधार विकास, सेवा विस्तार तथा विद्यमान चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया