बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त

लोकपथ
14
Shares

काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

नियुक्तिपछि डा. सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।

अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो ।

मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्येबाट डा. सिंहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा.सिंहले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष सेवा गरेका छन् । लामो समय क्यान्सर उपचार तथा स्वास्थ्य सेवामा योगदान पुर्‍याएका उनी अवकाशप्राप्त वरिष्ठ चिकित्सक हुन् ।

सरकारले उनको नेतृत्वमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र संस्थागत सुदृढीकरणमा थप प्रभावकारिता आउने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?