अब ग्लोबल आइएमई बैंकको खाता ग्राहक आफैँले रोक्का गर्न मिल्ने

ठगीको शंका लागे लगइन नै नगरी सेकेन्डभरमै खाता रोक्का गर्न सकिने सुविधा

लोकपथ
21
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एपबाटै खाता रोक्का गर्न सकिने सुविधा ल्याएको छ ।

पछिल्लो समय बढिरहेको डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको हो ।

वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि बैंकले ग्राहकको मिहिनेतको कमाइ सुरक्षाका लागि यस्तो कडा सुरक्षात्मक (Fraud Resilient) व्यवस्था मिलाएको जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१–५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि ९७७–१–५९७०६००) मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् ।

यसका साथै, मोबाइल एप प्रयोग गर्ने ग्राहकहरूका लागि यो सेवा झनै सहज र द्रुत बनाइएको छ । ग्राहक आफैँले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ (Global Smart Plus) मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् ।

ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान (Biometrics) हानेर लगइन (Login) गरिरहनु पर्दैन । एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने ‘कल साइन’ (Call Sign) मा क्लिक गरी ‘मिसकल बैंकिङ’ (Missed Call Banking) भित्र रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ (Account Block by Missed Call) विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

ग्लोबल आइएमई बैंकको यो अत्याधुनिक एवं द्रुत सेवाका कारण फिसिङ र स्क्याम जस्ता अनलाइन बैंकिङ अपराधहरूमा तत्कालका लागि ब्रेक लाग्ने र सर्वसाधारणको निक्षेप सुरक्षित राख्न ठूलो मद्दत पुग्ने बैंकिङ क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।

यसैबिच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?