अन्ततः खुल्यो भारतीय बजार, दुई महिनापछि नेपाली चिया निर्यात सुरु

लोकपथ
21
Shares

काठमाडौं । गुणस्तर परीक्षणको झन्झटिलो प्रक्रियाका कारण लामो समयदेखि रोकिएको नेपाली चियाको भारततर्फको निर्यात अन्ततः पुनः सुरु भएको छ ।

यससँगै उद्योगी, व्यवसायी र हजारौँ चिया किसानमा फेरि आशा पलाएको छ । गोदाममा थन्किएको चिया अब बजारतर्फ जान थालेको छ भने नयाँ अर्डर पनि आउन थालेका छन् ।

झन्डै दुई महिनादेखि नेपाली चिया निर्यात ठप्प थियो । भारतले मे १ देखि गुणस्तर परीक्षणको प्रक्रिया कडा बनाएपछि नेपालबाट जाने हरेक खेपको नमुना परीक्षण गर्नुपर्ने व्यवस्था लागू भएको थियो । यही प्रक्रियाले निर्यातमा ढिलाई मात्रै गरेन, उद्योगी र किसानलाई ठूलो आर्थिक संकटमा समेत धकेल्यो ।

तर अहिले परिस्थितिमा परिवर्तन आएको छ । भारतले आफ्नो व्यवस्था परिमार्जन गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब नेपालबाट भारत जाने प्रत्येक पाँच खेपमध्ये केवल एक खेप अर्थात एक ट्रकबाट २० प्रतिशतको मात्रै र्‍यान्डम नमुना परीक्षण गरिनेछ । यसले निर्यात प्रक्रिया केही सहज बनाएको छ ।

यससँगै पूर्वी नाका काँकडभिट्टा–पानीट्याङ्की हुँदै नेपाली चियाको निकासी फेरि सुरु भएको छ । नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि अर्थोडक्स चिया बोकेका ट्रक भारत प्रवेश गर्न थालेका छन् भने जुलाई १ अर्थात् आजदेखि भारतीय बजारले नियमित रूपमा नेपाली चिया लिन थालेको छ ।

निर्यात रोकिँदा यसको सबैभन्दा ठुलो असर इलाम र झापाका चिया उद्योगमा परेको थियो । इलामका उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया गोदाममै थन्किएको थियो । झापा र इलामका गरी करिब ९५ वटा चिया उद्योग तथा हजारौँ किसान प्रत्यक्ष प्रभावित भएका थिए । धेरै उद्योगले उत्पादनसमेत अस्थायी रूपमा बन्द गरेका थिए ।

अब भने अवस्था विस्तारै सामान्य बन्दै गएको छ । उद्योगीहरूले गोदाममा थन्किएको चिया बजार पठाउने तयारी तीव्र बनाएका छन् । भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको भन्दै व्यवसायीहरू उत्साहित देखिएका छन् । उनीहरूको विश्वास छ, अब व्यापार विस्तार हुने र चिया उद्योगले फेरि गति लिन्छ ।

चिया निकासी सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई तिब्र बनाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो देखाउँदै सम्बन्धित मन्त्रालय निकाय सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर समन्वय गरिएको थियो । यसपछि भारतीय सुरक्षा तथा मापदण्ड प्राधिकरणले परिक्षण प्रणली खुकिलो बनाउने निर्णय गरेको हो ।

दुई महिनादेखि अन्योलमा रहेको नेपाली चिया उद्योगका लागि यो निर्णय ठूलो राहत बनेको छ । निर्यात पुनः सुरु भएसँगै उद्योगी र किसानहरुमा नयाँ उत्साह देखिएको छ । अब यो सहजता दीर्घकालसम्म कायम रह्यो भने नेपाली चियाले भारतीय बजारमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति अझ मजबुत बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?