सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो : युवराज ज्ञवाली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार दुईतिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् ।

बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान तथा लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्ने संकेत देखिएको टिप्पणी गरे ।

ज्ञवालीले सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए । उनले सरकारका गतिविधिले संविधान नै समाप्त पार्ने प्रयास भइरहेको हो कि भन्ने आशंका बढ्दै गएको बताए ।

उनले प्रधानमन्त्री र सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति लोकतन्त्रका लागि अत्यन्त खतरनाक हुने चेतावनी दिए । सरकार दुईतिहाइ बहुमतको नाममा मनपरी गर्न खोजिरहेको दाबी गर्दै उनले यस्ता गतिविधिमाथि लोकतान्त्रिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए ।

ज्ञवालीले संघीयता खारेज गर्ने विषय सार्वजनिक रूपमा उठ्न थालेको उल्लेख गर्दै त्यसले संविधानप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न खडा गरेको बताए । सरकार र प्रधानमन्त्रीमा मनपरी गर्ने सोच विकसित भइरहेको देखिएको भन्दै उनले त्यसले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन सक्ने धारणा व्यक्त गरे ।

उनले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गर्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्नेमा जोड दिए । साथै, लोकतन्त्र, संविधान र संघीय व्यवस्थाको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?