संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

लोकपथ
35
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र प्रभावकारिता कायम राख्न सांसदहरूले आफ्नो आचरण, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

६७औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्था रूपमा स्थापित गर्न सांसद स्वयं मर्यादित हुन आवश्यक रहेकोमा जोड दिइन् ।

मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तरप्रति जनगुनासो बढिरहेको उल्लेख गर्दै त्यसबारे आत्मसमीक्षा आवश्यक रहेको बताइन् । उनले संसदीय अभ्यासलाई परिणाममुखी बनाउन जनसरोकारका विषयमा केन्द्रित बहस हुनुपर्ने धारणा राखिन् ।

उनका अनुसार प्रक्रियागत तथा प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलमार्फत समाधान गर्न सकिन्छ, तर संसदको समय मुख्यतः जनताका मुद्दामा खर्चिनु आवश्यक छ ।

‘जनताले तिरेको करबाट राज्य सञ्चालन हुन्छ, त्यसैले संसदमा पाएको समय अर्थपूर्ण रूपमा जनताका समस्यामा केन्द्रित हुनुपर्छ,‘उनले भनिन् ।

शिक्षा, स्वास्थ्य लगायत जनजीविकासँग सम्बन्धित विषयमा प्रभावकारी छलफल गर्दै सरकारलाई जवाफदेहितामा उभ्याउनुपर्ने उनको भनाइ थियो ।

सांसद गौतमले अघिल्लो तुलनामा संसदको स्तर खस्किएको जनचर्चाप्रति ध्यान दिँदै त्यसका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । साथै, संसदमा प्रयोग हुने भाषा, व्यवहार र पोशाकमा मर्यादा कायम राख्नुपर्नेमा पनि उनले जोड दिइन् ।

उनले आफू व्यक्तिगत रूपमा संसदको गरिमा कायम राख्न पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?