काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत सोचबाट माथि उठाउँदै नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् ।
उनले नेपालको पुरानो ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने रूपक अब बदलिएको विश्व परिवेशमा सान्दर्भिक नभएको उल्लेख गर्दै यसको सट्टा ‘लालीगुराँस’ जस्तो आत्मपहिचानयुक्त र सक्रिय अवधारणा आवश्यक रहेको बताए ।
सोमबार काठमाडौंमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको परराष्ट्र नीति परम्परागत रक्षात्मक अवस्थाबाट बाहिर निस्केर विकासमुखी र गतिशील हुनुपर्ने धारणा राखे ।
भट्टराईले वर्तमान युगलाई चौथो औद्योगिक क्रान्ति, डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ताको युगका रूपमा चित्रण गर्दै नेपालले विश्वसँग सक्रिय रूपमा जोडिनुपर्ने बताए । उनले अबको परराष्ट्र नीति ‘विकास कूटनीति’ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार २०७२ सालको संविधान जारी भएसँगै देश राजनीतिक संघर्षको चरण पार गरी विकास र सुशासनको नयाँ युगमा प्रवेश गरेको छ । बदलिएको सन्दर्भमा परराष्ट्र नीति पनि पुरानो निरन्तरतामा सीमित नभई नयाँ दिशामा अघि बढ्नुपर्ने उनले बताए ।
छिमेकी राष्ट्रहरूले नेपालका विकास परियोजनालाई केवल आर्थिक दृष्टिकोणबाट नभई सुरक्षा दृष्टिले हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले त्यसलाई चिर्न संस्थागत क्षमता मजबुत बनाउनुपर्ने सुझाव दिए ।
उनले प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबीच समन्वय गर्दै विकास कूटनीतिलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता पनि औँल्याए ।
भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको उदय र सामाजिक–राजनीतिक परिवर्तनले नयाँ आधार तयार पारेको भन्दै परराष्ट्र नीतिमा पनि नयाँ प्रस्थान आवश्यक रहेको बताए ।
उनले प्रस्तुत कार्यपत्रका विषयमा थप छलफल र बहसका लागि आफू सधैँ तयार रहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया