आरजु राइस मिल : किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म

सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग

लोकपथ
35
Shares

मोरङ । धान काट्ने बेलामा आकाश हेरेर चिन्तित हुने, मोइस्चर मिलेन भनेर खाद्य संस्थानको गेटबाट फर्किनुपर्ने, अनि बाध्य भएर स्थानीय गल्ला व्यापारीलाई जति भन्यो उति मूल्यमा अन्न बेच्नुपर्ने पूर्वी नेपालका किसानको दैनिकी अब बिस्तारै परिवर्तन हुँदैछ । मोरङको डाँगीहाटमा स्थापना भएको आरजु राइस मिलले किसानको खेतबाटै धान उठाएर सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा पनि बढी रकम दिन थालेपछि यहाँका २ हजार ५ सयभन्दा बढी किसानको मुहारमा राहत र खुसी दुवै छाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक तथा मोरङ डाँगीहाटका स्थानीय व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको सपनाबाट जन्मिएको यो मिलले कृषिमा आत्मनिर्भरताको नारालाई मात्र होइन, किसानको जीवनस्तर उकास्ने व्यावहारिक प्रयासलाई पनि मूर्तरूप दिन सार्थक कोसिस गरिरहेको छ । त्यही कोसिसको अर्को नाम हो, आरजु राइस मिल ।

बस्नेतको सपना : नाफाभन्दा माथि उठेर किसानको साथ

व्यावसायिक रूपमा हेर्दा खुला सीमानाका कारण भारतबाट सस्तोमा धान आयात गरी प्रशोधन गर्दा मिल सञ्चालकलाई धेरै नाफा हुने अवस्था छ । तर वीरेन्द्रबहादुर बस्नेतले सम्पूर्ण धान स्थानीय किसानबाटै खरिद गर्ने नीति लिए । मोरङको डाँगीहाटमा जन्मिएर ठूलो उद्योगी बनेका बस्नेतको सपना स्थानीय किसानको मुहारमा खुसी ल्याउने र गाउँको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने थियो । यसअघि बुद्ध एयरको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लागतको आधा मूल्यमा बिउ वितरण र मलखादमा सहयोग गर्दै आएका बस्नेतले सन् २०२२ मा करिब ५५ करोड रुपैयाँको लगानीमा आरजु राइस मिलको स्थापना गरे । अब थप ५ करोड रुपैयाँको तेस्रो भकारी निर्माणको क्रममा छ, जसले कुल लगानी ६० करोड रुपैयाँ पुग्दैछ ।

२५ हजार टन क्षमता, ९० जना तलबी कर्मचारी

आरजु राइस मिलसँग वार्षिक २५ हजार टन धानको भण्डारण (स्टोरेज) र प्रशोधन (प्रोसेसिङ) क्षमता छ । यद्यपि अहिले भने मिलले वार्षिक १२ हजार टन मात्रै धान खरिद गरी प्रशोधन गरिरहेको छ । स्थानीय स्तरका किसानबाट प्राप्त भएको निश्चित जातको धानको मात्रा बढी नभएका कारण अहिले आधाभन्दा कम क्षमतामा मात्रै मिल सञ्चालन गर्नुपरेको हो ।

किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्दै आगामी वर्षदेखि पूर्ण क्षमतामा सञ्चालन गर्ने मिलको लक्ष्य रहेको मिलका महाप्रबन्धक विवेकानन्द झाले बताए । हाल यो मिलमा दैनिक ज्यालादारीमा ४० जना र तलबी सेवामा ५० जना गरी कुल ९० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । ज्यालादारीका सबैजसो काम स्थानीय महिलालाई नै दिने गरिएको छ । स्थानीय किसान, मजदुर र कर्मचारीको जीवनमा यो मिल एउटा मजबुत आर्थिक आधार बन्दै गएको छ ।

चैते धानमा सरकारी मूल्यभन्दा ३९ पैसा बढी

नेपाल सरकारले यस वर्षको चैते धानको न्यूनतम समर्थन मूल्य २८ रुपैयाँ ५८ पैसा प्रतिकिलो तोकेको छ । तर सरकारी मापदण्डअनुसार धानको चिस्यान (मोइस्चर) १८ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यो सीमा नाघेमा सरकारी संयन्त्रले धान सिधै अस्वीकार गरिदिन्छ । किसानले खेतबाट ल्याउने चैते धानको चिस्यान भने २२ प्रतिशतभन्दा माथि नै हुने भएकाले किसानले सरकारी मूल्य पाउन सरकारी डिपोमा धान बेच्न सक्ने अवस्था न विगतमा थियो, न अहिले नै छ ।

वास्तवमा सरकारले घोषणा गर्ने न्यूनतम समर्थन मूल्य व्यवहारमा कर्मकाण्डी मात्र बनेको छ । किसानसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध देखिँदैन । वर्षमा एकपटक थोरै मात्र धान खरिद गर्ने प्रचलन छ, जसले किसानलाई वास्तविक सुरक्षा दिन सक्दैन । त्यसमाथि सरकारको आफ्नै राइस मिल नहुँदा चामलको गुणस्तर र मूल्य दुवैमा स्थिरता रहँदैन ।

आरजु राइस मिलको मोरङको डाँगिहाटमा रहेको मिलको ड्रोन दृश्य । तस्वीर सौजन्य : विष्णु कल्पित

तर आरजु राइस मिलले चैते धानको लागि चिस्यानको मात्रालाई २५ प्रतिशतसम्म स्वीकार गर्दै प्रतिकिलो २५ रुपैयाँ न्यूनतम मूल्य कायम गरेको छ । यदि चिस्यानको मात्रा २५ प्रतिशतभन्दा कम भएमा १ दशमलव २ प्रतिशतका दरले थप रकम दिने मिलको नीतिले किसानलाई ठूलो राहत दिएको छ । मिलका महाप्रबन्धक विवेकानन्द झा भन्छन्, ‘हामीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा पनि बढी रकम दिएर धान खरिद गरिरहेका छौँ ।’

सरकारले तोकेको १८ प्रतिशत चिस्यानको मापदण्ड राखेर मूल्य गणना गर्दा आरजुले किसानलाई प्रतिकिलो २७ रुपैयाँ १० पैसा प्रदान गरिरहेको छ । थप ५ प्रतिशतसम्म भूसको छुट तथा अपरिपक्व दानाको समेत मूल्य दिँदा यो मूल्य २८ रुपैयाँ ९७ पैसासम्म पुग्छ । यो रकम सरकारले तोकेको समर्थन मूल्यभन्दा ३९ पैसाले बढी हो ।

असारे धानमा पनि सरकारको भन्दा बढी रकम : सरकारको ३६, आरजुको ३७ रुपैयाँ १३ पैसा

चैते धानमा मात्र होइन, असारे (मंसिरमा उत्पादन हुने) धानमा पनि आरजु राइस मिलले किसानलाई बढी रकम दिइरहेको छ । सरकारले असारे धानको लागि प्रतिकिलो ३६ रुपैयाँ समर्थन मूल्य तोक्दा चिस्यानको मात्रा १४ प्रतिशत मात्र स्वीकार गरेको छ । तर आरजुले भने चिस्यानको मात्रा २० प्रतिशतसम्म कायम गर्दै प्रतिकिलो ३५ रुपैयाँ ३७ पैसा न्यूनतम मूल्य निर्धारण गरेको छ ।

असारे धान प्राकृतिक रूपमा कम चिस्यान भएर तयार हुने हुँदा प्रायः १८ प्रतिशतकै हाराहारीमा चिस्यान हुने र त्यसमा भूसको ५ प्रतिशतसम्मको छुट जोड्दा किसानले प्रतिकिलो ३७ रुपैयाँ १३ पैसा पाइरहेका छन् । यो सरकारी मूल्यभन्दा १ रुपैयाँ १३ पैसाले बढी हो । चैते र असारे गरी दुई सिजनको धान खेती गर्दा एक किसानले प्रतिबिघा करिब २ लाख ३० हजार रुपैयाँको आम्दानी गरिरहेको मिलको दाबी छ ।

ढुवानी खर्चमा बचत : प्रतिकिलो २ रुपैयाँको राहत

गाउँमै मिल हुनुको अर्को ठूलो फाइदा किसानले ढुवानी खर्चमा पाएको बचत हो । रंगेलीका किसान युवराज न्यौपाने भन्छन्, ‘पहिले धान काटेर घर लैजान, सुकाउन अनि धान बेच्न खाद्य संस्थानको डिपो वा गल्ला व्यापारीसम्म बोकेर लैजाँदा प्रतिकिलो २ देखि २ रुपैयाँ ५० पैसासम्म ढुवानी खर्च हुन्थ्यो । अहिले मिलले खेतबाटै धान उठाइदिन्छ । गाउँमै मिल भएकाले ढुवानीमा प्रतिकिलो ५० देखि ८० पैसा मात्र खर्च भएको छ ।’

मिलको मूल्य र ढुवानी बचतको यो संयुक्त लाभले गर्दा किसानले चैते धानमा प्रतिकिलो करिब ३१ रुपैयाँ प्राप्त गरिरहेको न्यौपानेले बताए । यो स्थानीय गल्ला व्यापारीमार्फत हुने बजार मूल्यभन्दा झन्डै दोब्बर हो । किनभने स्थानीय गल्ला व्यापारीले किसानबाट धान खरिद गर्दा प्रतिकिलो १६ देखि १८ रुपैयाँ मात्रै दिने गरेको अर्का किसान कर्णबहादुर थापाले गुनासो गरे । थापाले भने, ‘गल्ला व्यापारीले त हामीले लगेको जुनसुकै धानलाई पनि भदई अर्थात् चैते धान भन्दै कम मूल्य लगाइदिन्थ्यो ।

‘सरकार मूल्य त तोक्छ तर धान खरिद नै गर्दैन’

किसानहरू सरकारले धान खरिद नै नगर्ने गरेको गुनासो गर्छन् । सरकारले चैते धान किन्दै नकिन्ने र असारे धान पनि पुस महिनामा मात्र थोरै परिमाणमा सीमित किसानबाट खरिद गर्ने गरेको उनीहरूको अनुभव छ । स्थानीय किसान कर्णबहादुर थापा भन्छन्, ‘सरकारले सोना मन्सुली चामलको मात्र सूचना निकाल्छ, चिस्यान १८ प्रतिशत कायम गर्छ । एउटै किसानको सबै धान पनि किन्दैन । मोइस्चर मिलेन भने फिर्ता पठाइदिन्छ । तर आरजुले भने किसानलाई जोगाएको छ ।’

आरजु राइस मिलले किसानसँग ‘होस्टेमा हैंस्यै’ गरेको मात्र नभई उपभोक्तालाई पनि आयातित चामलभन्दा उच्च गुणस्तरको चामल सहज मूल्यमा उपलब्ध गराइरहेको छ ।

सरकारसँग आफ्नै मिल नभएको र बिचौलियामार्फत धान खरिद गर्ने प्रवृत्तिले किसान मारमा परिरहेको अवस्थामा आरजुले सिधा किसानसँग जोडिएर उनीहरूको उत्पादनको उचित मूल्य दिलाइरहेको किसानको भनाइ छ ।

एकै प्रजातिको धान खेतीमा सहकार्य, मिलकै पहलमा बिउ र प्राविधिक सहयोग

चामलको गुणस्तरमा एकरूपता कायम राख्न एउटै प्रजातिको धान आवश्यक पर्ने हुँदा आरजु राइस मिलले किसानहरूलाई बिउ राख्ने बेलाभन्दा अगाडि नै खरिद गर्ने ग्यारेन्टीसहितको मूल्य दिने गरेको छ । आरजु राइस मिलका महाप्रबन्धक झा भन्छन्, ‘हामीले यसपटक हर्दिनाथ ६ (जिरा मसिनो) र सुवासी लङ ग्रेन धान रोप्न लगाएका छौँ । पहिले गाउँमा विभिन्न जातका धान मिसिने समस्या थियो, जसले चामलको गुणस्तरमा समस्या ल्याउँथ्यो ।’

अहिले मिलसँग आबद्ध किसानसँग करिब २ हजार ५ सय बिघा क्षेत्रफलमा ब्लक बनाएर एकै प्रकारको धान रोप्ने गरी काम भइरहेको छ । यसका लागि मिल आफैँले न्यूनतम मूल्यमा किसानलाई उन्नत बिउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराइरहेको छ । माटो परीक्षणदेखि लिएर धानमा रोग वा किरा लागेमा तत्काल प्राविधिक पठाएर उपचार गर्ने काममा समेत मिलले सहजीकरण गरिरहेको छ । किसानको बाली बीमामा पनि आरजुले सहजीकरण गर्दै आएको जनाएको छ ।

उत्पादनमा क्रान्ति : एक खेत, दुई बाली, तीन आम्दानी

यस क्षेत्रमा हर्दिनाथ ६ धानले किसानको खेती चक्रमै परिवर्तन ल्याएको छ । स्थानीय वर्षे धान १६० दिनमा पाक्ने गरेकोमा हर्दिनाथ ६ धान १३० दिनमै तयार हुन्छ । यसले गर्दा किसानले वर्षमा दुई बाली धान र एक बाली तोरी गरी तीन बाली खेती गर्ने अवसर पाएको स्थानीय किसान ऋषि मिश्र बताउँछन् । उनी भन्छन्, ‘पहिले हर्दिनाथ १ लगाउँथ्यौँ, उत्पादन उस्तै हुन्थ्यो तर मूल्य कम पाइन्थ्यो । अहिले हर्दिनाथ ६ को धानले राम्रो मूल्य दिएको छ ।’

चैते धानमा प्रतिबिघा औसतमा एक लाख रुपैयाँको उत्पादन हुने र असारे (मंसिरे) धानमा थप एक लाख ३० हजारदेखि १ लाख ५० हजार रुपैयाँ जोडिँदा एक किसानले दुई सिजनमा प्रतिबिघा करिब २ लाख ३० हजार रुपैयाँ आम्दानी गर्न सक्ने मिलको दाबी छ । यसरी हेर्दा बिउ, रोपाइँ, मलखाद र ढुवानी गरी प्रतिबिघा करिब ४० हजार रुपैयाँ खर्च कटाउँदा पनि किसानलाई मनग्य आम्दानी बच्ने देखिन्छ ।

२४ घण्टामा भुक्तानी, अन्नको चिन्ता छैन

परम्परागत रूपमा सरकारी डिपो वा गल्ला व्यापारीलाई धान बेच्दा भुक्तानीका लागि महिनौँ कुर्नुपर्ने, मोइस्चर मिल्दैन भनेर धान फिर्ता लैजानुपर्ने वा तौलमा ठगिने जस्ता समस्या व्याप्त थिए । तर आरजुले खेतबाटै हार्भेस्टरले काटेर सिधै मिलमा ल्याएको धानको खरिद गरी २४ देखि ४८ घण्टाभित्र भुक्तानी दिने व्यवस्था मिलाएको छ । ‘अहिले त धान काटेर सुकाउने झन्झटै सकियो, पैसा तुरुन्तै आउँछ, हामी निकै खुसी छौँ,’ रंगेलीका किसान कर्णबहादुर थापाले खुसी साटे ।

उत्पादन र बजार : आरजुको पहिचान

आरजुले तीन किसिमका प्रिमियम चामल ब्रान्डिङ गरेर बजार पठाइरहेको छ । पहिलो, आरजु एरोमेटिक (लङ ग्रेन) जुन सुवासी प्रजातिको धानबाट उत्पादन हुन्छ । दोस्रो, आरजु प्रिमियम जिरा मसिनो चामल हो, जुन हर्दिनाथ ६ धानबाट उत्पादित हुन्छ र कुल उत्पादनको ६० प्रतिशत हिस्सा यसैले ओगटेको छ । 

अनि तेस्रो, आरजु प्रिमियम लोकल, जुन स्थानीय रामधान प्रजातिबाट उत्पादन हुन्छ र यो जिरा मसिनोभन्दा केही मोटो तर लङ ग्रेनभन्दा सानो हुन्छ । यी सबै चामलको उत्पादन खेतदेखि नै गुणस्तर कायम राख्दै प्रशोधन गरिएकाले बजारमा राम्रो माग रहेको मिलको दाबी छ ।

सामूहिक खेती र चक्लाबन्दीमा भने समस्या

स्थानीयस्तरमै राइस मिलको स्थापना भएर किसानलाई सहज हुँदा पनि आरजु राइस मिलको सबैभन्दा ठूलो चुनौती भनेको किसानलाई एकै ठाउँमा चक्लाबन्दी गरेर सामूहिकरूपमा एउटै प्रजातिको धान खेती गर्न राजी गराउनु नै रहेको छ । किसानको एकल निर्णय वा व्यवहारमा परिवर्तन ल्याउन अझै पनि निकै कठिन भइरहेको मिलको भनाइ छ । स्थानीय किसान कर्णबहादुर थापा भन्छन्, ‘चक्लाबन्दी गर्न आफ्नै ठाउँका मान्छेले भन्यो भने उल्टै यसले कति पायो भन्ने आरोप लाग्छ । बाहिरबाट आएर सम्झाउने हो भने बरु किसानले मान्छन् । चक्लाबन्दी गरेर एकैपटक वा एकै जातको धान रोप्न सकिए लागत मूल्यमा निकै फरक पर्छ र गुणस्तर पनि कायम हुन्छ, तर यो कुरा अझै पनि किसानलाई बुझाउन सकिएको छैन ।’ उनी अगाडि भन्छन्, ‘यो कुरा स्थानीयस्तरमा बुझाउन सामाजिक परिचालकको भूमिका बरु महत्वपूर्ण हुन्छ ।’

चैते धानलाई पहिले माछा वा सुँगुरको दानाको रूपमा मात्र लगाइने यस क्षेत्रमा आज सामूहिकरूपमा व्यावसायिक चैते धान खेती हुनु आफैँमा एउटा कृषि क्रान्तिको संकेत रहेको किसान थापाले बताए ।

किसानको खेतदेखि भान्सासम्मको यो शृंखलाले मोरङका किसानको मुहारमा चमक भने ल्याएको छ । वीरेन्द्रबहादुर बस्नेतले देखेको सपना अहिले एउटा सशक्त कृषि उद्योगको रूपमा उभिएको छ, जसले सरकारले गर्न नसकेको काम (किसानको वास्तविक मूल्यांकन र उचित मूल्य) यो मिलले व्यवहारमा उतारिदिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?