सुदूरपश्चिमको आर्थिक मुहार फेर्ने ‘जालपादेवी केबलकार’ : ६ अर्बको लगानीमा असोजभित्रै सञ्चालनमा आउने

लोकपथ
28
Shares

काठमाडौं । कैलालीको चिसापानी (लम्कीचुहा) देखि मोहन्याल गाउँपालिकाको राजकाँडा जोड्ने महत्वाकाङ्क्षी ‘जालपादेवी केबलकार’ परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।

आइएमई समूहको मुख्य लगानी रहेको यस बहुवर्षीय आयोजनामा विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विगत १३ वर्ष अगाडि स्थानीय व्यवसायीहरूले देखेको यो सपनामा देशकै ठूलो व्यावसायिक घराना आइएमई समूह जोडिएपछि कामले गति लिएको हो । वि. सं. २०८१ साल पुसमा शिलान्यास भई गत वर्षको असारदेखि यसको भौतिक निर्माण सुरु भएको थियो । आगामी असोजभित्रै यसलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

यो केबलकार ३.१ किलोमिटर लामो हुनेछ ।केबलकारसँगै अत्याधुनिक होटल, स्काइवाक, रेस्टुरेन्ट र पर्यटकीय पार्कहरू पनि निर्माण भइरहेका छन् ।

तल्लो स्टेशनमा पाँचतारे होटल र ब्यान्क्वेट हल बन्दैछन् भने माथिल्लो स्टेशन (राजकाँडा) मा जालपादेवी मन्दिर, स्काई वाक र रिसोर्टहरू निर्माण भइरहेका छन् ।

काठमाडौंभन्दा भारतको राजधानी दिल्ली चिसापानीबाट नजिक पर्ने भएकाले छिमेकी देशको विशाल बजारलाई आकर्षित गर्न सजिलो हुने अपेक्षा गरिएको छ । उत्तर प्रदेश र उत्तराखण्डका २७ करोडभन्दा बढी जनसङ्ख्यालाई लक्षित गरी गड्डाचौकी, गौरीफन्टा र रुपैडिहा जस्ता नाकाबाट आउने भारतीय पर्यटकका लागि यो मुख्य गन्तव्य बन्न सक्छ ।

हाल चिसापानी आउने पर्यटकहरू केही घण्टामै फर्किने गरेकामा अब केबलकार र राजकाँडा ‘हिल स्टेसन’ का कारण पर्यटकको बसाइ लम्बिनेछ । यसलाई बर्दियाको जङ्गल सफारी र कर्णालीको र्‍याफ्टिङसँग एउटै प्याकेजमा जोड्ने योजना छ ।

यस परियोजनाले स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी दिने र गाउँका कृषि उत्पादनले उचित बजार पाउने हुँदा स्थानीय अर्थतन्त्र चलायमान हुने जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

ढकालका अनुसार यो आयोजना केवल एउटा पर्यटकीय गन्तव्य मात्र नभई सुदूरपश्चिम र समग्र देशकै आर्थिक रूपान्तरणको बलियो माध्यम बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?