११ महिनाको निर्यातमा उत्साह : अलैँची निर्यातबाट मात्रै १२ अर्ब बढी आर्जन, कुनको कति ?

लोकपथ
42
Shares
एआईबाट बनाइएको सांकेतिक तस्बिर

काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि विभिन्न विलासिताको वस्तुहरु आयात हुँदा ठूलो धनराशी बाहिरिने गरेको नेपालको यथार्थता छ । तर यो मात्र होइन, धेरै वस्तुहरु छन् जो निर्यात् गरेर नेपालले विदेशी मुद्रा समेत आर्जन गरिरहेको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको पाइएको छ । निर्यातमा यो हालसम्मकै उच्च विन्दु रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको कुरा गर्दा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात गरेको थियो । तर ११ महिनाको तथ्यांक हेर्दा नेपालले निर्यातमा केही आशा देखाएको छ ।
भन्सार विभागको यो तथ्यांक केलाउँदा नेपालकै स्थानीय उत्पादन निर्यात गर्दा देशले २१ अर्ब ३९ करोड २९ लाख बढी आर्जन गरेको छ । जसमा नपिसेको अलैँची र ऊनीको गलैँचा मात्रै बिक्री गर्दा २१ अर्ब बढीको विदेशी मुद्रा आर्जन गरेको हो ।

यो अवधिमा नेपालले कुल ६० लाख ३४ हजार ८ सय ९४ केजी अलैँची निर्यात गरेको छ । विदेशमा नेपाली अलैँचीको उच्च माग रहँदा यसअवधिमा मात्रै अलैँची निर्यात गरेर नेपालले १२ अर्ब १ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो ।

यो अवधिमा नेपालको रैथाने ३ लाख ३६ हजार ९ सय ४६ वर्गमिटर ऊनीको गलैँचा तथा कार्पेट निर्यात गरेको छ । ती वस्तुको निकाशीबाट मात्रै नेपालले ९ अर्ब ३८ करोड १४ लाख ९६ हजार रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ ।

तर नेपालबाट निर्यात हुने सूचीको सबैभन्दा शीर्ष स्थानमा प्रशोधित भटमासको तेलकै वर्चश्व देखिएको छ । अन्य मुलुकबाट कच्चा तेल ल्याएर नेपालमा प्रशोधन गरी छिमेकी मुलुक भारत लगायत अन्य मुलुकमा भटमासको तेल निर्यात गर्ने गरिएको छ ।

यो अवधिमा प्रशोधित भटमासको तेल निर्यातबाट मात्रै नेपालले १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । उक्त अवधिमा नेपालले कुल ५३ करोड ८ लाख २८ हजार ९ सय ३८ केजी प्रशोधित भटमासको तेल निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी भन्सार विभागको तथ्यांक अनुसार ८ करोड ७४ लाख ९० हजार ६ सय ९६ वर्गमिटर जुटका अप्रशोधित कपडाहरु निर्यात गर्दा नेपालले ५ अर्ब ७८ करोड ४६ लाख ८० हजार रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ ।
नेपालले सो अवधिमा प्रशोधित सूर्यमुखी र सनफ्लवार तेल निर्यात गरेर ७ अर्ब ९९ करोड ३२ लाख ९४ हजार आर्जन गर्दा पाम आयल निर्यातबाट ६ अर्ब १४ करोड २ लाख ३१ हजार बराबर विदेशी मुद्रा आर्जन गरेको छ ।

नेपालबाट निर्यात हुने फलफूलको जुसको निर्यात समेत उल्लेख्य मात्रामा रहेको देखिन्छ । यो अवधिमा अमिलोरहित मिश्रित फलफूलको जुस मात्रै ५ करोड ३ लाख १७ हजार ५ सय ९० लिटर निर्यात गरेर ४ अर्ब ४१ करोड ९६ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसका साथै ११ महिनाको तथ्यांक अनुसार हस्तकला उद्योगतर्फ अन्य कपडाहरुको निर्यातबाट मात्रै नेपालले ५ अर्ब ४ करोड ४९ लाख ३३ हजार आर्जन गरेको छ ।

जसमा ८५ प्रतिशतभन्दा कम पोलिएस्टर भएको धागो ४ अर्ब ६० करोड ८६ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ भने ८५ प्रतिशतभन्दा बढी भएको एकल पोलिएस्टर धागो ४ अर्ब ३९ करोड १६ लाख १९ हजार रुपैयाँ बराबर बाहिरिएको छ ।

यसरी हेर्दा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?