कक्षा १२ को परीक्षामा ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण, ४० जनाको परीक्षा रद्द

१ लाखभन्दा बढी विद्यार्थीको ‘एनजी’

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी आंशिकतर्फ ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् । नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नियमित र आंशिक गरी कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् । दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो ।

बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । 

बोर्डले उपलब्ध गराएको नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ जना रहेको छ । यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ९४ हजार २४९, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५० हजार ५९७, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २.०० जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ । 

नतिजा बोर्डको वेबसाइट result.neb.gov.np तथा neb.gov.np मा हेर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै नेपाल टेलिकमको neb.ntc.net.np वेबसाइट, एसएमएस, आईभीआर र यूएसएसडी सेवामार्फत पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले नतिजासँगै प्रमाणपत्र वितरण, ग्रेडवृद्धि परीक्षा तथा त्रुटि सच्याउने प्रक्रियाबारे पनि जानकारी दिएको छ। नतिजा प्रकाशित भएको मितिले सात दिनभित्र ग्रेड चित्त नबुझेका विद्यार्थीले प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै, नतिजामा नाम, थर, जन्ममिति, रजिस्ट्रेसन नम्बर वा विषयगत विवरणमा त्रुटि देखिएमा आवश्यक कागजातसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत निवेदन दिन सकिने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?