काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले मुलुकको यातायात प्रणालीमा व्यापक सुधार ल्याउनु नै आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन तथा शपथग्रहण कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायात, ढुवानी सेवा र सडक सुरक्षालगायत समग्र यातायात क्षेत्रको सुधारमा आफू पूर्ण प्रतिबद्ध रहेको बताए ।
सभापति गजुरेलले यातायात क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला निकायलाई समेटेर अघि बढ्ने नीति अनुरूप महासंघसँग सम्पूर्ण समिति तथा निकायहरूको विवरण माग गरेका छन् । छलफल र निर्णय प्रक्रियामा कुनै पक्ष नछुटोस् भन्ने उद्देश्यले यस्तो सूची आवश्यक रहेको उनको भनाइ थियो ।
उनले चालक, सहचालक, व्यवसायी तथा पदाधिकारी सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवालाको सहभागितामा मात्रै समस्याको दिगो समाधान सम्भव हुने बताए ।
कार्यक्रममा गजुरेलले मुलुकको ढुवानी तथा सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त रहेको स्वीकार गर्दै सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको बताए । नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सातदेखि आठ जनाले ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै उनले यस विषयलाई पूर्वाधार विकास समितिले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
उनका अनुसार समितिले हालसम्म सम्पन्न पाँचवटै बैठकमा यातायात क्षेत्रका समस्या, सुधारका उपाय तथा सडक सुरक्षाका विषयमा केन्द्रित भएर छलफल गरेको छ । आगामी दिनमा पनि सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रका समस्या समाधान गरिने विश्वास उनले व्यक्त गरे ।
‘सार्वजनिक यातायात, ढुवानी सेवा र सडक सुरक्षासहित समग्र यातायात प्रणालीमा सुधार आवश्यक छ। यसका लागि हामी पूर्ण निष्ठाका साथ लाग्नेछौँ,‘उनले भने। ‘यातायात क्षेत्रको सुधारबाहेक मेरो अर्को कुनै एजेण्डा छैन । सबै पक्षलाई समेटेर सहकार्यका साथ अघि बढ्छौँ र यो क्षेत्र सुधार गरेरै छाड्छौँ ।’
गजुरेलले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया