झापा । झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान–धनमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्ने तयारी अघि बढाइएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि टास्क फोर्स गठन प्रक्रिया अगाडि बढाइएको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगी ले जानकारी दिएकी छन् । उनका अनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षाकर्मी परिचालन गर्ने कार्ययोजना तयार भइरहेको छ ।
गत साता मेचीनगर–४ मा आफ्नै आँगनमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । उक्त घटनापछि तत्काल समाधानमुखी कदम चाल्न सरकारमाथि दबाब बढेको थियो ।
यसै सन्दर्भमा सांसद डाँगीसहित राष्ट्रियसभा सदस्य रोशनी मेचे ले संसदमा समेत जंगली हात्ती नियन्त्रणका लागि ठोस नीति र सुरक्षा व्यवस्था आवश्यक रहेको भन्दै आवाज उठाएका थिए ।
प्रस्तावित ‘स्पेसल टास्क फोर्स’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकलाई समावेश गरिनेछ। सुरक्षाकर्मीको परिचालन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुनेछ । प्रारम्भिक चरणमा करिब १० देखि ५० जनासम्म सुरक्षाकर्मी खटाउने प्रस्ताव गरिएको छ ।
मेचीनगरको सीमावर्ती क्षेत्र बाहुनडाँगीलाई हात्ती प्रवेशको मुख्य नाका मानिएको छ। सो क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालतर्फबाट ३० देखि १०० वटासम्मको जंगली हात्तीको बथान प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय जनप्रतिनिधिहरूले भने भारतबाट हात्ती प्रवेश रोक्ने दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की ले सुरक्षाकर्मी परिचालनलाई सकारात्मक कदम भन्दै तालिमप्राप्त जनशक्ति खटाउनुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै, पूर्व बाहुनडाँगी गाविस अध्यक्ष नीलकण्ठ तिवारी ले भारततर्फबाट हुने हात्ती प्रवेश रोक्ने ठोस कार्ययोजना आवश्यक रहेको उल्लेख गरेका छन् ।
स्थानीयवासीले टास्क फोर्सको परिचालनले तत्काल राहत दिने अपेक्षा गरे पनि दीर्घकालीन रूपमा हात्ती–मानव द्वन्द्व समाधानका लागि स्थायी नीति आवश्यक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया