काठमाडौं । लामो समयदेखि कुकुरहरुको उद्धार गरिरहेको संस्था क्याट KAT अर्थात् काठमाडौं पशु उपचार केन्द्रका लागि पशु उद्धार एम्बुलेन्स प्राप्त भएको छ ।
काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–२ स्थित क्याटको कार्यालयमा मंगलबार उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
विभिन्न गैरसरकारी संस्थाको विशेष सहयोगमा सञ्चालन भइरहेका क्याटका लागि क्याट अमेरिकाले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
क्याट अमेरिकाकी अध्यक्ष मेलिस्सा पेरकिन्सले क्याटकी अध्यक्ष लक्ष्मी शर्मालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले क्याट यूएसएको सहयोगले घाइते तथा असहाय कुकुरहरुको उद्धारमा थप सहजता हुने विश्वास व्यक्त गरिन् । साथै आगामी दिनमा केन्द्र र स्थानीय सरकारबाट आफूहरुले सहयोगको अपेक्षा रहेको बताइन् ।

‘क्याट यूएसए र मेलिस्सालाई विशेष धन्यवाद, जसको सहयोगले आगामी दिनमा कुकुरहरुको उद्धारका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ । साथै केन्द्र र स्थानीय सरकारबाट समेत हामी सहयोगको अपेक्षा गर्दछौँ,’ उनले भनिन् ।
यसैगरी कार्यक्रममा बोल्दै क्याटका प्रोजेक्ट म्यानेजर एवं वरिष्ठ पुश चिकित्सक डाक्टर विदुर पियाले प्राप्त एम्बुलेन्सले आफूहरुलाई काम गर्न थप सहजता हुने विश्वास व्यक्त गरे ।
‘हामीसँग भएको एम्बुलेन्स सानो र पुरानो भइसकेको अवस्थामा क्याट यूएसएको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले कुकुरहरुको उद्धारका लागि थप सहजता हुनेछ,’ उनले भने ।
डा. विदुर विगत १७ वर्षदेखि क्याट सेन्टरसँग आवद्ध रहेर काम गरिरहेका छन् । अध्यक्ष लक्ष्मी शर्मा जस्तै विदुरले पनि केन्द्र र स्थानीय सरकारले थप सहयोग गरेमा घाइते तथा असहाय कुकुरहरुको उद्धारमा सहजता हुने बताए ।

सन् २००४ मा स्थापना भएको क्याट सेन्टरले काठमाडौंका विभिन्न स्थानबाट कुकुरहरुको उद्धार गरिरहेको छ । साथै घाइते कुकुरहरुको उपचार, वेबारिसे कुकुरहरुको बन्ध्याकरण समेत गर्दै आइरहेको छ ।
आफूहरुले कसैले सम्पर्क गरेमा त्यहाँ गएर कुकुरहरुको उद्धार गर्ने र उपचारपछि सम्बन्धित स्थानमा नै लगेर छाडिदिने गरेको डा. विदुर बताउँछन् ।
‘हामीले घाइते तथा बिरामी कुकुरहरुको उद्धार गर्ने गरेका छौँ । तिनीहरुलाई उद्धार गरेर क्याट सेन्टरमा ल्याइ उपचारपछि त्यहीँ लगेर छाडिदिने गरेका छौँ । यसले कुकुरहरुलाई बाँच्न सहज हुने मात्र नभएर समुदायमा कुकुरका कारण परेको समस्या समेत समाधान हुँदै आइरहेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया