चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरको उद्धार, ५ भारतीय पक्राउ

मागिएको थियो २२ लाख फिरौती

लोकपथ
2k
Shares

काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोर रिशव गुप्ताको काठमाडौंबाट सकुशल उद्धार गरिएको छ ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका रिशवको उद्धार गरेको हो ।

अपहरणमा संलग्न ५ जना भारतीयहरुलाई समेत पक्राउ गरिएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरदकुमार थापा क्षेत्रीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार अपहरणकारीले रिशवलाई सोमबार चितवनको भरतपुर महानगरपालिकास्थित नारायणगढबाट अपहरण गरेका थिए ।

आज कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट बालकको उद्धार र उनीहरुलाई पक्राउ गरेको हो ।

‘सोमबार अपहरणमा परेका बालकको सकुशल उद्धार गरेका छौँ । अपहरणमा संलग्न ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका सबै भारतीय नागरिक हुन्,’ प्रवक्ता एसपी थापा क्षेत्रीले भने ।

अपहरणमा परेका रिशवका बुबा सुनका गरगहना बनाउने कालीगढ रहेको प्रहरीले जनाएको छ । उनीहरुले रिशवका परिवारसँग २२ लाख रुपैयाँ फिरौती समेत माग गरेका थिए ।

के कति कारणले उनको अपहरण गरियो भन्ने खुल्न सकेको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?