जथाभावी रुट परमिटले दुर्घटना बढ्यो : ट्राफिक प्रमुख काफ्ले

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकको अवस्था र सवारीको क्षमताको मूल्यांकन नगरी जथाभावी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले जथाभावी रुट परमिट दिँदा सवारी दुर्घटना बढिरहेको बताए । सडकको अवस्था, भौगोलिक जोखिम र सवारीको प्रकृति नहेरी अनुमति दिने गरिएको उनको भनाइ छ ।

उनले मनाङ-मुस्ताङजस्ता कठिन भूगोलमा समेत सडकको क्षमता र सवारीको उपयुक्तता नहेरी लामो र ठूला बसलाई रुट परमिट दिने गरिएको बताए । यसले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ थियो ।

एसएसपी काफ्लेले सार्वजनिक, निजी र दुईपांग्रे सवारी एउटै सडक र एउटै रुटमा सञ्चालन गर्नुपर्ने अवस्थाका कारण ट्राफिक जामको समस्या गम्भीर बन्दै गएको बताए ।

उनका अनुसार नागढुंगा-चितवन र फर्पिङ हुँदै जाने मुख्य मार्गमा ढुवानीका साधन, सार्वजनिक बस र निजी सवारी एकैसाथ सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सार्वजनिक यातायात र ढुवानी व्यवस्थापनमा संरचनागत सुधार आवश्यक रहेको उनले बताए ।

उनले नेपालमा सार्वजनिक यातायात सेवा मुख्यतः निजी क्षेत्रबाट सञ्चालन भइरहेको जानकारी दिए । केही निजी कम्पनीले आफ्नै दर्ताका सवारीमार्फत सामान ढुवानी गरे पनि अधिकांश क्षेत्रमा सार्वजनिक ढुवानी सेवामै निर्भरता रहेको उनको भनाइ थियो ।

काफ्लेले सडकमा जथाभावी सामग्री राख्ने प्रवृत्ति बढेको भन्दै ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही रकम बढाउनुपर्ने सुझाव दिए । उनले न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना कायम गर्नुपर्ने बताए ।

एसएसपी काफ्लेले काठमाडौं प्रवेश गर्ने पश्चिमी नाकामा सडक पूर्वाधारमा क्षति पुगेको भन्दै समितिको ध्यानाकर्षण गराए ।

उनका अनुसार काठमाडौं भित्रिने लेन बाहिरिने लेनभन्दा बढी धसिएको छ । यसको प्रमुख कारण नेपाल र भारतबीच मालवाहक सवारीले बोक्न पाउने भार क्षमताको मापदण्ड फरक हुनु रहेको उनले बताए ।

भारतीय सवारीले नेपालमा तोकिएको भन्दा बढी भार बोकेर आउने गरेको भन्दै उनले नेपाल र भारतका सवारीका लागि समान भार मापदण्ड लागू गर्नुपर्ने सुझाव दिए ।

बैठकमा काफ्लेले नेपालभर हाल ६२ लाख ४९ हजार ७३२ वटा सवारी साधन दर्ता रहेको जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब २० लाख सवारी साधन सञ्चालन हुने गरेको उनले बताए । उनका अनुसार हरेक दिन औसत २ हजार ५०० भारतीय सवारी नेपाल प्रवेश गर्ने गरेका छन् ।

तर ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्ति पनि करिब २ हजार ५०० मात्रै रहेको उनले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन एआई (कृत्रिम बुद्धिमत्ता) आधारित ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?