काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि गोकर्णेश्वर नगरपालिका र केएमसी पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सोमबार भएको सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शय्यामा भर्ना भई उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगल शाखामा भने सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सुविधा प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुनेछ। सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्नेछ ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ सहयोग गर्नेछ । अन्य सहुलियत रकमसमेत जोड्दा एक बिरामीले अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहायता प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कार्यक्रम तथा अन्य उपलब्ध सुविधाको उपयोग गरेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ ।
केएमसीका सञ्चालक डा.सुनिल शर्माले गोकर्णेश्वरका मिर्गौला रोगीले स्वास्थ्य बीमा, सरकारी सुविधा, नगरपालिका र अस्पतालबाट उपलब्ध सहुलियत जोडेर १० लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउन सक्ने बताए। उनले नेपालमा कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
नगरपालिका प्रमुख दीपककुमार रिसालले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार नगरपालिकाले आसपासका ११ वटा अस्पतालसँग सहुलियतपूर्ण उपचार सेवाका लागि सम्झौता गरिसकेको छ ।
उनले हाल करिब ३० करोड रुपैयाँ लागतमा नगर अस्पताल निर्माण भइरहेको र दैनिक करिब एक हजार दुई सय बिरामीलाई सेवा प्रदान भइरहेको जानकारी दिए । नगरवासीको स्वास्थ्य बीमाको व्यवस्था समेत नगरपालिकाले गरेको उनको भनाइ छ ।
सम्झौताअनुसार उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ । रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ ।
सहुलियत प्राप्त गर्न सेवाग्राहीले निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमा कार्डलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ । अस्पतालले उपचारपछि खर्च विवरणसहित आवश्यक कागजात स्वास्थ्य शाखामा बुझाएपछि नगरपालिकाले ३० दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया