काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोषका रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साहलाई कम्तीमा ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि शनिबार पक्राउ परेका सेफ सन्तोषलाई हिरासतमा राख्न म्याद माग्दै प्रहरीले आज सोमबार कार्यालय खुलेलगत्तै जिल्ला अदालत, काठमाडौंमा हाजिर गराएको थियो । त्यसक्रममा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा जनकपुरबाट पक्राउ गरेको थियो । त्यसपछि काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो ।
प्रहरीले सन्तोषसँगै सोही रेस्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । दुवै मुद्दा गैरीधारामा उनले चलाउन खोजेको रेस्टुरेन्टसँग सम्बन्धित रहेको जनाइएको छ । जाहेरी दिने शकुन्तला थापा साहलाई गैरीधारामा भएको एउटा रेस्टुरेन्ट उनीहरूलाई १ करोड ३० लाख रुपैयाँमा बिक्री गरेकी थिइन् । त्यसबापत साहले दिएको चेकको पैसा निकाल्न जाँदा बाउन्स भएको थियो ।
यही घटनामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टर सेफ बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया