इप्पान अध्यक्ष डाँगीको कार्ययोजना सार्वजनिक : नीतिगत सुधारदेखि प्रविधिमैत्री निर्वाचनसम्म प्राथमिकता

लोकपथ
28
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन् ।

नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौं मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राखिने स्पष्ट पारे ।

उनले आगामी कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको जानकारी दिए । साथै, समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित ‘इप्पान भिजन २०२९’ अन्तर्गतका कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन गरिने बताए ।

डाँगीका अनुसार इप्पानले सामूहिक नेतृत्वको अवधारणाअन्तर्गत सातवटा विशेष समिति र आवश्यकताअनुसार उप–समितिहरू गठन गर्नेछ । ती समितिहरूलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरिनेछ ।

त्यसैगरी निःवर्तमान अध्यक्षको संयोजकत्वमा अधिकतम ११ सदस्यीय सल्लाहकार समिति तथा ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय उच्चस्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिनेछ । पूर्वसचिवको संयोजकत्वमा बन्ने विज्ञ समितिले अनुसन्धान तथा विकास मा काम गर्ने र विद्युत तथा वनसम्बन्धी कानुन तथा नियमावली सुधारका लागि सरकार र संसदीय समितिसँग समन्वय गर्ने उनले बताए ।

अध्यक्ष डाँगीले वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकहरूले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पानले आवश्यक परे आफ्नै विधेयक मस्यौदा तयार गरी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने योजना रहेको उल्लेख गरे ।

ऊर्जा उद्यमीहरूको आचारसंहिता निर्माण गरी क्षेत्रलाई मर्यादित बनाउने, निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण, वितरण र व्यापारमा समेत सहभागी गराउने विषयमा ‘दृष्टिकोण पत्र’ तयार गरिने पनि उनले जानकारी दिए ।

इप्पानलाई पूर्ण रूपमा डिजिटल बनाउने, सदस्यलाई अनलाइन प्रणालीमार्फत तथ्याङ्क पहुँच दिने तथा आगामी अधिवेशनदेखि अनलाइन मतदान प्रणाली लागू गर्ने योजना समेत सार्वजनिक गरिएको छ ।

सचिवालय व्यवस्थापनका लागि आफ्नै भवन निर्माण गर्ने र सहयोग गर्ने दाताहरूको नाममा भवन तथा हलहरूको नामकरण गर्ने नीति समेत अघि सारिएको छ ।

त्यसैगरी ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि विदेश समन्वय उप–समिति गठन, अवैतनिक दूतहरूसँग सहकार्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ । जलविद्युतसँगै सौर्य ऊर्जा, ग्रिन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासलाई समेत प्रोत्साहन गरिने योजना छ ।

अध्यक्ष डाँगीले निर्वाचनका क्रममा देखिएका मतभेद अन्त्य भइसकेको र इप्पान पूर्ण रूपमा एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?