गोमा तामाङले छाडिन् रास्वपा

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी कोशी प्रदेश कार्यवाहक सभापति एवं प्रदेश सभापतिकी आकांक्षी गोमा तामाङ (सरिन तामाङ) ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।

हालै सम्पन्न रास्वपाको अधिवेशनमा विवाद देखिएपछि उनले पार्टीबाट मात्र नभइ राजनीतिबाटै सन्यास लिएको घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा मतादाताहरुप्रति धन्यवाद ज्ञापन गर्दै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

उनी रास्वपा कोशी प्रदेशको सभापतिको आकांक्षी समेत रहेकी थिइन् । तर प्रदेश सभापतिमा चन्द्र राई विजयी भएसँगै उनले राजनीतिबाटै बिदा लिने घोषणा गरेकी हुन् ।

‘आजबाट राजनीतिक बिट मारे । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।

त्यसो त गत निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट रास्वपाले उनलाई उम्मेदवार बनाएको थियो । तर उनी श्रम संस्कृति पार्टीका हर्कराज राई ‘हर्क साम्पाङ’ सँग पराजित बनेकी थिइन् ।

फागुन २१ को निर्वाचनमा उनले २७ हजार २ सय ४९ मत प्राप्त गर्दा हर्कले ३५ हजार ७ सय ४१ मत प्राप्त गरेका थिए ।
महाधिवेशमा संघीय सांसदहरुले चलखेल गरेको भन्दै तामाङले आक्रोश व्यक्त गरेकी थिइन् । उनले आफूलाई हराउन सांसदहरुले लागिपरेको भन्दै आफूलाई सैह्य नहुने चेतावनी दिएकी थिइन् ।

उनले रास्वपाको नीति विपरित प्यानल बनाएको भन्दै असन्तुष्टि पैदा भएको थियो । माथिको ह्वीप भन्दै आफूलाई हराएको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा थप भनेकी छन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यु र केन्द्रीय सदस्य ज्यु । धन्यवाद तपाईं चौथाज्युहरुलाई । सायद अनेक सेटिङ प्यानल बनाउन जानिन् मैले, यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशिलाई भनेर । तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’

रास्वपाको कोशीको सभापतिमा ४ जनाको आकांक्षा रहेको थियो । विजयी भएका चन्द्र राईसहित गोमा तामाङ (सरिन तामाङ), चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।

कुल ७०३ मत खसेकोमा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?