संसदमा हर्कको अडान– ‘गल्ती प्रधानमन्त्रीले गर्ने, जवाफ परराष्ट्रमन्त्रीको ? हामी मान्दैनौँ’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बैठक बसेको हो ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्कराज राई ‘हर्क साम्पा’ ले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताए ।

उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरु केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरु कसैले स्पष्टिकरण दिनेकुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त ? उहाँले यहाँ बोल्न आउनुभएन भने लिखत रुपमा धारणा पठाउनुपर्‍यो । नत्र एउटाले गल्ति गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौँ ।’

प्रधानमन्त्री वालेन्द्र शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए । विपक्षीहरुले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान कायम गरेका हुन् । तर सत्तापक्षसँग परराष्ट्रमन्त्रीले जवाफ दिने सहमतिसँगै अन्य विपक्षी दलहरुले विरोध नजनाए पनि श्रम संस्कृति पार्टीले भने त्यसलाई अस्वीकार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?