प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन

लोकपथ
42
Shares

काठमाडौं । जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने मागसहित विभिन्न मुद्दा उठाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

सोमबार आयोजित सांकेतिक विरोध कार्यक्रममा सहभागी कार्यकर्ताहरूले प्रदेश सरकारलाई थप अधिकार दिन, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन् ।

प्रदर्शनकारीहरूले १२ लाख रोजगारी सिर्जना गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन गर्न, नेपाली सेनामा मधेसी र थारु समुदायको सामूहिक भर्ना सुनिश्चित गर्न तथा तराई–मधेश क्षेत्रमा जनसंख्याको अनुपातअनुसार बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन् ।

यस्तै, वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन, चुरे क्षेत्रको दोहन र अतिक्रमण रोक्न तथा मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, सुकुमबासी र अल्पसंख्यक समुदायमाथि हुने विभेद अन्त्य गर्न पनि प्रदर्शनकारीहरूले आग्रह गरेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जयकान्त राउतले सरकारलाई आफ्नै वाचापत्र र प्रतिबद्धता सम्झाउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गरिएको बताए । उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा उल्लेख गरेका विषयहरू कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

राउतले मधेश तथा सिमान्तकृत समुदायका मुद्दाप्रति सरकार गम्भीर नभएको दाबी गर्दै हालै सार्वजनिक बजेटमा पनि मधेशको जनसंख्या र आवश्यकताअनुसार स्रोत विनियोजन नभएको गुनासो गरे ।

उनले सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्न ढिलाइ गरे मधेशी, दलित तथा सिमान्तकृत समुदायमाथि थप विभेद हुनसक्ने आशंका व्यक्त गर्दै समयमै सचेत गराउन प्रदर्शन गरिएको बताए ।

जनमत पार्टीले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?