रविलाई राजेन्द्र लिङदेनको सुझाव : वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

लोकपथ
35
Shares
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलामा संवेदनशीलता अपनाउन सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् ।

सोमबार रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथा सभापति लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको विगतको भारी नबोक्ने भनाइ अपरिपक्व भएको टिप्पणी गरे । लिङदेनले उक्त अभिव्यक्तिले नेपालले संसदबाट सर्वसम्मत रूपमा पारित गरिसकेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको ऐतिहासिक तथ्य र प्रमाणलाई कमजोर पार्ने खतरा रहेको बताए ।

अध्यक्ष लिङदेनले सरकारका गलत गतिविधिको असर सम्पूर्ण देशले व्यहोर्नुपर्ने भएकाले वैदेशिक विषयमा परिपक्व र जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गरे । उनले सीमा र राष्ट्रिय स्वार्थसँग जोडिएका विषयमा अभिव्यक्ति दिँदा विशेष सावधानी अपनाउन आग्रह गरे ।

उनले रास्वपाले जनताबाट प्राप्त समर्थन र भारत भ्रमणका क्रममा प्राप्त विशेष स्वागतलाई अवसरका रूपमा उपयोग गर्न सुझाव दिँदै त्यसलाई नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन प्रयोग गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष लिङदेनले जनताले दिएको मतलाई सरकारले अवसरको रूपमा प्रयोग गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?