प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
91
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने भएको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८औँ बैठकका लागि सार्वजनिक कार्यसूचीमा बजेट छलफलसँगै विभिन्न महत्वपूर्ण विधेयक तथा महासन्धीहरू पेस गर्ने कार्यक्रम समावेश गरिएको छ ।

कार्यसूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् ।

प्रस्ताव पेस भएपछि बजेटमाथि सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम छ ।

व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यस्तै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै ती विधेयकहरू पनि सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा सन्धीसम्बन्धी विषय पनि समावेश गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठक बजेटमाथिको प्रारम्भिक बहस र विभिन्न महत्वपूर्ण विधेयकहरूको प्रक्रियागत अगुवाइका दृष्टिले महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?