काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सोमबार बिहान प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ। प्रतिनिधि सभा नियमावली २०८३ लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेका कारण सभामुखले दलहरूसँग छलफल गर्न लागेका हुन् ।
जेठ १७ गते विपक्षी दलहरूको विरोधका बीच सत्तारुढ पक्षको बहुमतबाट नयाँ नियमावली पारित भएको थियो । त्यसयता विपक्षी दलहरूले सदनको कार्यसूची अघि बढ्न नदिँदा नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन सकेको छैन ।
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग राख्दै आएका छन् । यही विषयलाई लिएर उनीहरूले निरन्तर संसद् अवरोध गरिरहेका छन् ।
जेठ १९ गतेपछि पहिलो पटक सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । बैठकको कार्यसूची तय गर्ने तथा लामो समयदेखि जारी संसदीय अवरोध अन्त्यका लागि सहमति खोज्ने उद्देश्यले सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया