पुरानै सोच बोकेर नयाँ शक्ति बन्न सकिँदैन : रवि लामिछाने

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई म बाट हामी मा रूपान्तरण गर्दै सामूहिक भावना बलियो बनाउनुपर्ने बताएका छन् ।

आज र भोलि देशका ६६ जिल्लामा हुन गइरहेको जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले धैर्य, त्याग र समर्पणमार्फत राजनीतिक संस्कारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

लामिछानेका अनुसार अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने महत्वपूर्ण अवसर पनि हो । उनले यसले आगामी राजनीतिक यात्रालाई स्पष्ट दिशा दिने बताएका छन् ।

उनले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विचारसँगै व्यवहार, शैली र राजनीतिक संस्कार पनि सुधारिनुपर्ने बताए । पुरानै सोच र प्रवृत्ति बोकेर नयाँ र जनमैत्री शक्ति बन्न नसकिने उनको भनाइ छ ।

सभापति लामिछानेले स्थापनाकालमा अस्थायी रूपमा बाँडिएका जिम्मेवारीलाई आधार मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने भन्दै त्यसलाई समयमै सच्याउनुपर्नेमा जोड दिए ।

उनका अनुसार पार्टीभित्र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक अधिवेशन प्रक्रियामार्फत नै न्यूनीकरण गर्न आवश्यक छ ।

लामिछानेले मतदाताको विवेक र सदस्यहरूको समर्पणले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै अब लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने मात्र नभई देशको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?