उद्योग संरक्षण र रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्छ : माधव नेपाल

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकारले रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले राज्यको मुख्य दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र व्यवसाय फस्टाउन अनुकूल नीति बनाउनु रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने खालका नीति नलिन सरकारलाई आग्रह गरे ।

नेपालले उद्योग व्यवसायको उचित संरक्षण र प्रोत्साहन नहुँदा युवाहरू रोजगारीका लागि विदेश पलायन हुन बाध्य भइरहेको बताए । आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप थियो ।

उनले स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने उल्लेख गर्दै सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको बताए ।

सह–संयोजक नेपालले नेपालका करिब १५० औषधि उद्योग धराशायी हुने अवस्थामा पुगेको दाबी गर्दै यस विषयमा संसद, राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले सरकारलाई निजी क्षेत्रसँग नियमित संवाद गर्न, गुनासा सुन्न र नीतिगत सुधारमार्फत उद्योग व्यवसाय संरक्षणको वातावरण बनाउन आग्रह गरे ।

उनले कृषि, जलविद्युत् र खनिज स्रोत नेपालको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उत्पादन, रोजगारी र आम्दानी वृद्धि भए उपभोग र व्यापार स्वतः विस्तार हुने बताए । सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत–साधनमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालले सुनचाँदी लगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?