१० वर्षयताकै सानो र सन्तुलित बजेट ल्यायौँ : अर्थमन्त्री वाग्ले

लोकपथ
42
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विगत १० वर्षयताकै सबैभन्दा सानो र सन्तुलित बजेट भएको दाबी गरेका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले बजेटको आकारलाई लिएर भइरहेका भ्रम चिर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री वाग्लेले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा हेर्दा वर्तमान बजेट केवल २८.५ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै विगतमा भूकम्प, कोभिड र पोस्ट–कोभिड अवधिमा ३५ देखि ३७ प्रतिशतसम्मको बजेट ल्याइएको स्मरण गराए । उनले अहिलेको बजेटलाई स्रोत र कार्यान्वयन क्षमताअनुसार सन्तुलित बनाइएको बताए ।

उनका अनुसार यसअघि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि कार्यान्वयन क्षमता भने १६ खर्बदेखि १७ खर्ब रुपैयाँसम्म मात्रै सीमित देखिएको छ । यही कारण सरकारले यसपटक २१ खर्ब २४ अर्ब रुपैयाँको यथार्थपरक बजेट ल्याएको उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले समय र स्रोतको अत्यधिक दबाबबीच बजेट निर्माण गरिएको स्वीकार गर्दै पाँच वर्षे कार्ययोजनाको आधार तयार गर्ने उद्देश्यसहित पहिलो वर्षको बजेट ल्याइएको बताए । केही जटिल नीतिगत सुधार आगामी वर्ष थप परिष्कृत रूपमा ल्याइने उनले जानकारी दिए ।

उनले बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गर्दै ६५० अर्ब रुपैयाँ ऋण उठाउने चर्चा भए पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमै खर्च हुने बताए । सरकारले आगामी वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले विगत २० वर्षमा निर्माण भएका पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ अवधारणा अघि सारिएको बताए । मुग्लिन–पोखरा सडक, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्ग विस्तारमार्फत आर्थिक गतिविधि बढाइने उनको भनाइ थियो ।

बजारमा देखिएको शिथिलता र न्यून मागलाई सम्बोधन गर्न आयकर छुट तथा कर प्रोत्साहनका व्यवस्था गरिएको उनले बताए । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्दै लगानीको वातावरण निर्माण गर्न सरकारले साना तर प्रभावकारी कदम चालेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?