बुटवल–पाल्पा सुरुङमार्ग असोजदेखि सञ्चालन तयारी

लोकपथ
28
Shares

सिद्धार्थनगर । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

आयोजनाले सुरुङभित्रका संरचना निर्माण, पहुँच सडक तथा सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाइरहेको जनाएको छ । हालसम्म सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ ।

पाँच वर्षे निर्माण अवधिमा सम्पन्न गर्ने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडेलमा आयोजना कार्यान्वयन भइरहेको हो । यस मोडेलअनुसार डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ ।

आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी असोजसम्म सुरुङमार्गमार्फत यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्र बनाइएको छ । निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी लिनेछ भने त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ रहनेछ ।

प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भए पनि अहिले ती समस्या समाधानतर्फ उन्मुख रहेको आयोजनाले जनाएको छ । म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।

सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङ सञ्चालनमा आएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा रकसेड तथा भिर संरक्षणका काम अघि बढाइनेछ ।

पैदलयात्रीका लागि रकसेडभित्र सुरक्षित मार्ग निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिने योजना छ ।

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको हो ।

पहिरो र भूक्षयको उच्च जोखिम रहेको सिद्धार्थ राजमार्ग खण्डमा सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?