सर्वोच्च अदालतमा गोलाप्रथा पेसी हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति, आन्दोलनको चेतावनी

लोकपथ
175
Shares

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति कडा आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथामार्फत पेसी तोक्ने प्रणाली हटाएर प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए ।

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे ।

उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को आरोप लगाउन हजारौँ मानिस परिचालन गर्ने प्रवृत्ति बढेको आरोप लगाए । अहिले न्यायपालिका गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने बताए ।

उनले भने, ‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ । यदि त्यो हटायो भने आन्दोलन गर्ने अर्को एन्जाइटी छ । अब प्रधानन्यायाधीश हुनका लागि त्याग–तपस्या गर्नुपर्दैन । संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई जे मन लाग्यो त्यसैलाई राख्ने अभ्यास थालियो । प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि ?’

उनले न्यायालय र न्यायाधीशलाई बलियो बनाउने दायित्व कानून व्यवसायीहरूको पनि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?