मनसुनमा मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुन सक्ने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरण गर्न मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन कार्यक्रममा बोल्दै एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमान प्रविधि अत्यन्तै विश्वसनीय बन्दै गएको उल्लेख गरे । उनले त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना हुने गरेकोतर्फ ध्यानाकर्षण गराए ।

उनले यातायात व्यवसायी तथा चालकहरूलाई नाफाभन्दा मानवीय सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिँदै जोखिमयुक्त क्षेत्रमा जबरजस्ती सवारी सञ्चालन गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे । खराब मौसममा यात्रा स्थगित गर्न उनले चालक र यात्रु दुवैलाई अपिल गरे ।

एआईजी कार्कीले यातायात क्षेत्रमा भएका सुधार प्रयासहरूको चर्चा गर्दै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिमा आएको कमी सकारात्मक भएको बताए । उनले बसपार्कभित्र आवश्यक न्यूनतम पूर्वाधार व्यवस्थापन भइसकेको जानकारी दिँदै ट्राफिक नियमको पालना निरन्तर गर्न आग्रह गरे ।

उनका अनुसार यातायात क्षेत्रमा विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोग बढाइएको छ । हालसम्म ४ सयभन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको उनले जानकारी दिए । यसले दुर्घटनाको सही पहिचान र न्याय प्रक्रियामा सहजता ल्याउने उनको विश्वास छ ।

साथै उनले अनलाइन टिकटिङ प्रणाली र यात्रुका सामान सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।

‘अहिले प्रविधिको विकासले मौसमको जानकारी ठ्याक्कै मिल्न थालेको छ, तर हामी त्यसलाई पालना गर्दैनौँ । पूर्वानुमान अनुसार यात्रा योजना बनाउने हो भने जोखिमबाट जोगिन सकिन्छ,‘उनले भने।

उनले प्रहरीले रोक्दारोक्दै पनि जोखिम मोलेर यात्रा गर्ने र समस्या परेपछि उद्धार नभएको गुनासो गर्ने दोहोरो प्रवृत्तिले समस्या थपिएको उल्लेख गर्दै व्यक्तिगत सुरक्षामा स्वयं सजग हुनुपर्नेमा जोड दिए ।

एआईजी कार्कीले विगतका वर्षहरूमा जस्तै बाढी र पहिरोका कारण सवारी साधन तथा यात्रु बेपत्ता हुने दुःखद घटना दोहोरिन नदिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?