तीनपिप्ले–गल्छी सडकको स्तरोन्नती र कालोपत्रेको माग गर्दै माइतीघरमा धर्ना

लोकपथ
49
Shares

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीयहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका छन् ।

स्थानीय कृषक, व्यापारी, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सडकको दयनीय अवस्थाका कारण जनजीवनमा परेको प्रत्यक्ष असरबारे आवाज उठाइएको थियो । सहभागीहरूले सडकको बिग्रँदो अवस्थाले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्र गम्भीर रूपमा प्रभावित भएको बताएका थिए ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै धर्नाका संयोजक अमृत पुडासैनीले तीनपिप्ले–गल्छी सडक केवल पूर्वाधारको विषय मात्र नभई हजारौँ नागरिकको भविष्य र जीवनस्तरसँग जोडिएको विषय भएको बताए । उनले सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीय किसान, विद्यार्थी, बिरामी तथा व्यापारीहरूले दैनिक रूपमा कठिनाइ भोग्नुपरेको उल्लेख गरे ।

तीनपिप्ले–गल्छी सडक नुवाकोटका ककनी तथा बेलकोटगढी क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मार्ग हो । तर वर्षौँदेखि सडक स्तरोन्नति कार्य सुस्त हुँदा स्थानीय जनताले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या झेल्दै आएका छन् । कतिपय स्थानमा सडक जोखिमपूर्ण बन्दै जाँदा दुर्घटनाको सम्भावना समेत बढेको स्थानीयहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?