नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक, के–के छन् योजनामा ?

लोकपथ
0
Shares

काठमाडौं । बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विकास र नागरिक अपेक्षालाई सम्बोधन गर्ने लक्ष्यसहित नेपाल प्रहरीले ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५’ सार्वजनिक गरेको छ ।

नागरिक केन्द्रित, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उक्त योजना आगामी तीन वर्षमा नेपाल प्रहरीलाई आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ ।

रणनीतिक योजना सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आपतकालिन लक्ष्यहरु, दीर्घकालीन लक्ष्यहरु, रणनीतिक क्षेत्र तथा लक्ष्यहरु र यसमा कार्यान्वयन तथा मुल्याङ्कन गरिने बताएका छन् ।

नेपाल प्रहरीले सात वटा रणनीतिक क्षेत्रहरु अन्तर्गत ३६ वटा रुपान्तरणकारी, रणनीति र ९९ मुख्य कार्यक्रमहरु सम्पन्न गर्ने लक्ष्य राखेको छ । आईजीपी कार्कीले नेपाल प्रहरीलाई परम्परागत पुलिसिङ प्रणालीबाट बाहिर निकालेर विश्लेषणात्मक सोच, तथ्यमा आधारित निर्णय प्रणाली र डिजिटल प्रविधिमा आधारित संगठनका रूपमा विकास गर्ने बताए ।

आईजीपी कार्कीका अनुसार योजना निर्माणअघि संगठनको वर्तमान अवस्था, कमजोरी, अवसर र चुनौती पहिचान गर्न ‘स्वट’ विश्लेषण गरिएको थियो । बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र नागरिकका बढ्दो अपेक्षालाई ध्यानमा राखेर रणनीति तयार गरिएको उनको भनाइ छ ।

उनले कानुनविद्, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाविज्ञ तथा विभिन्न सरोकारवालासँग व्यापक छलफल गरी प्राप्त सुझावलाई योजनामा समेटिएको जानकारी दिए । नागरिक सहभागिता र सुझावलाई आधार बनाएर प्रहरी संगठनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य राखिएको उनले बताए ।

रणनीतिक योजनामा डिजिटल फरेन्सिक, समाजमा शान्ति सुव्यवस्था, अपराधको रोकथाम, साइबर अपराध अनुसन्धान, संगठित अपराध नियन्त्रण तथा आर्थिक अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिएको छ । विशेषगरी सम्पत्ति शुद्धीकरण, अन्तरदेशीय अपराध र वित्तीय अपराध नियन्त्रणका लागि अनुसन्धान क्षमता तथा प्राविधिक दक्षता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।

आईजीपी कार्कीले परम्परागत अनुसन्धान प्रणालीले अहिलेका जटिल तथा प्रविधिमा आधारित अपराध नियन्त्रण गर्न कठिन हुने भएकाले प्रहरी कर्मचारीको क्षमता विकास, विशेष तालिम तथा आधुनिक प्रविधिको विस्तार अपरिहार्य भएको बताए । उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फरेन्सिक उपकरण र आधुनिक अनुसन्धान प्रणालीको प्रयोगलाई व्यापक बनाइनेछ ।

योजनाअनुसार नागरिकका गुनासा, उजुरी तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत दर्ता, अनुगमन र समाधान गर्ने व्यवस्था विस्तार गरिनेछ । सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन एकीकृत डिजिटल प्लेटफर्म विकास गर्ने योजना पनि अघि सारिएको छ । यसले गर्दा सेवाग्राहीहरु घण्टौसम्म लाइनमा बस्न नपर्ने आईजीपी कार्कीले बताए ।

यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहका लागि विशेष सेवा प्रणाली विकास गरिने नेपाल प्रहरीले जनाएको छ । घरेलु तथा लैङ्गिक हिंसाका पीडितलाई संवेदनशील र पहुँचयोग्य सेवा उपलब्ध गराउन महिला प्रहरी परिचालन बढाउने तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउँदै अपराध रोकथाममा समुदायको सक्रिय सहभागिता बढाइने रणनीतिमा उल्लेख छ । ‘हटस्पट’ आधारित प्रहरी परिचालन, समस्याकेन्द्रित सेवा प्रणाली तथा वैज्ञानिक अपराध विश्लेषणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

रणनीतिक योजनामा नीति तथा योजना, शान्ति सुरक्षा, अपराध अनुसन्धान, मानव स्रोत विकास, पूर्वाधार तथा सूचना प्रविधिलगायत सात प्रमुख क्षेत्र समेटिएका छन् । ती क्षेत्रमार्फत संगठनात्मक सुधार, दक्ष जनशक्ति विकास र प्रविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।

महानिरीक्षक कार्कीले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको सहयोग, पर्याप्त बजेट, नीतिगत निरन्तरता तथा प्रविधिगत लगानी आवश्यक पर्ने बताउनुभयो । उनका अनुसार आगामी आर्थिक वर्षदेखि योजना चरणबद्ध रूपमा लागू गरिनेछ । योजना कार्यान्वयनको प्रभावकारिता मूल्यङ्कन गर्न मासिक, त्रैमासिक तथा वार्षिक समीक्षा प्रणाली लागू गरिनेछ भने डिजिटल ट्रर्याकिङ प्रणालीमार्फत प्रगति अनुगमन गरिने प्रहरीको भनाइ छ

त्यस्तै यस अघि नेपाल प्रहरीले २०८०–२०८२ मा १३ ओटा मुख्य लक्ष्यहरु ४० वटा उद्देश्यहरु र २०७ वटा क्रियालापहरु रहेका थिए भने प्रमुख उपलव्धिहरु ६४ वटा नीति, निर्देशिका, मापदण्ड, कार्यदेश, कार्ययोजना लगाएतका प्रतिवेदनहरुको निर्माण सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नायब महानिरीक्षक अवि नारायण काफ्ले र राजेन्द्र प्रसाद भट्ट ले योजनाका उद्देश्य, कार्यान्वयन रणनीति तथा चुनौतीबारे प्रस्तुति दिए र भएको थियो । प्रस्तुतिमा बदलिँदो अपराध प्रवृत्ति र प्रविधिको प्रभावलाई ध्यानमा राख्दै संगठनात्मक सुधार अपरिहार्य रहेको उल्लेख गरिएको थियो ।

नेपाल प्रहरीले ‘नवप्रवर्तन, इमानदारी र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तर’भन्ने मूल नारासहित रणनीतिक योजना कार्यान्वयन गर्ने जनाएको छ ।

साथै, नेपाल प्रहरीले यस रणनीतिक विषय ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ तय गरीएको यस रणनीतिक योजनाबाट प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?