महँगी नियन्त्रण गर्न सरकार असफल, तत्काल राहत प्याकेज ल्याउन सांसद लामाको माग

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै तत्काल राहत प्याकेज ल्याउन माग गरेकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले आम नागरिकको जीवन कष्टकर बनेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

उनका अनुसार चामल, दाल, तरकारीदेखि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याससम्मका वस्तुको मूल्य निरन्तर बढ्दै गएको छ, तर सरकारले प्रभावकारी सुशासन र मूल्य नियन्त्रण गर्न नसकेको अवस्था छ ।

उनले दुई तिहाइको शक्तिशाली सरकार भए पनि जनताको पीडा सम्बोधन हुन नसकेको टिप्पणी गर्दै सरकारको उपस्थिति नै नागरिकले महसुस गर्न नपाएको बताइन् ।

नागरिकको आम्दानी स्थिर रहे पनि खर्चको बोझ लगातार बढ्दै जाँदा सामान्य परिवारलाई जीवन निर्वाह कठिन बनेको उनको भनाइ थियो ।

सांसद लामाले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गर्न पनि माग गरिन् । साथै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा लाग्ने कर पुनरावलोकन गरी जनतालाई प्रत्यक्ष राहत दिनुपर्ने उनले जोड दिइन् ।

कृषि उत्पादन र आपूर्ति प्रणाली सुदृढ गर्दै आयातमा निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै, सार्वजनिक यातायातको भाडा नियन्त्रण गर्न र निम्न तथा मध्यम वर्गलाई लक्षित गर्दै खाद्यान्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत विस्तार गर्न पनि उनले सरकारसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ। के यही हो सरकारले दिलाउन चाहेको सुशासन ? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन ?

सरस्वती लामाले उठाएको यो विषयले प्रतिनिधि सभामा महँगी र बजार नियन्त्रणसम्बन्धी बहसलाई थप चर्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?