काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई संसद् र लोकतान्त्रिक प्रक्रियाको सम्मान नगरेको भन्दै तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
साम्पाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको व्यवहारले संसदीय मर्यादा र लोकतान्त्रिक परम्परामा गम्भीर प्रश्न उठेको बताएका छन् ।
उनले चार मुख्य कारण अघि सार्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । पहिलो, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् हलबाट बाहिरिएको र पुनः बैठकमा नफर्किएको आरोप छ ।
दोस्रो, प्रतिपक्षीले संसद्मा उपस्थित हुन माग गर्दा पनि प्रधानमन्त्री संसद् नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको दाबी गरिएको छ ।
तेस्रो, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको र उठेका प्रश्नहरूको जवाफ दिन पनि नआएको उल्लेख छ ।
चौथो, प्रधानमन्त्री नियुक्त भएयता अहिलेसम्म संसद्मा उपस्थित भएर जनतालाई सम्बोधन नगरेको साम्पाङको भनाइ छ ।
साम्पाङले प्रधानमन्त्रीले संसद् र जनताको अपमान गरेको भन्दै यस्तो कार्यले लोकतन्त्रप्रतिको विश्वास कमजोर बनाउने बताएका छन् ।
उनले संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया