काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साह स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा बिहीबार भएको छलफलका क्रममा बोल्दै उनले सरकार प्रमुख आफ्नै नीति तथा कार्यक्रममाथिको बहसमा उपस्थित नहुनु संसदको मर्यादा र संसदीय परम्पराविपरीत भएको टिप्पणी गरे ।
राईले प्रधानमन्त्रीले सांसदहरूको धारणा प्रत्यक्ष रूपमा सुन्नुपर्नेमा जोड दिँदै उत्तर दिने क्रममा पनि स्वयं उपस्थित हुनुपर्ने बताए । उनले प्रधानमन्त्री उपस्थित नभए संसदको अभ्यास कमजोर हुने भन्दै आलोचना गरे ।
प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै उनले सामाजिक उदाहरण दिँदै भने, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन ।’ उनले सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अनिवार्य हुने धारणा राखे ।
उनले प्रधानमन्त्री जवाफ दिन पनि उपस्थित नभए आफ्नो पार्टी संसदबाट बाहिरिने चेतावनीसमेत दिए ।
राईले नीति तथा कार्यक्रमलाई एकलौटी रूपमा ल्याइएको आरोप लगाउँदै सांसदहरूको सुझाव समेट्न नसकिएको बताए । उनले छलफल पर्याप्त र सार्थक नभएको भन्दै नीति तथा कार्यक्रममा नीति र कार्यक्रमबीच स्पष्टता नदेखिएको टिप्पणी गरे ।
उनले देश विकास गफले मात्रै सम्भव नहुने भन्दै सरकारसहित सबै पक्षले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया