गणेश पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन  दिएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण  गराएका हुन् । 

उक्त नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ । 

साथै, कुनैपनि व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानबारे उनले स्मरण गराएका छन् । यसै क्रममा, सभामुख अर्यालले २०८० वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेको केही शब्दहरू नियमावली विपरीत रहेको भन्दै हटाउन आदेश दिएका छन्  । 

सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गरेको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसद्को गरिमा प्रतिकूल रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिइएको हो । 

सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?