काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।
सम्बोधनका क्रममा उनले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र कांग्रेसलाई एकढिक्का बनाउनु रहेको स्पष्ट पारे । साथै, वर्तमान केन्द्रीय समितिको वैधतामाथि प्रश्न उठाउँदै नेतृत्वले ‘पिक एण्ड चूज’ को नीति अपनाएर आफूअनुकूल व्यक्तिहरूलाई मात्रै केन्द्रीय समितिमा मनोनयन गरेको आरोप लगाए ।
पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने संकेत नदेखिएको उनको तर्क थियो । उनले ५४ प्रतिशतको भेलाबाट बनेको समितिले ४६ प्रतिशत पक्षलाई बाहिर राखेर पूर्ण कांग्रेसको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
नेता घिमिरेले विगतको निर्वाचन परिणाम स्मरण गराउँदै आधा कांग्रेस बोकेर अघि बढ्दा पार्टीले घाटा व्यहोर्नुपरेको उल्लेख गरे । उनले स्वाभिमान बेचेर राजनीति गर्न नसकिने भन्दै पार्टीका सम्पूर्ण पक्षलाई समेट्ने दायित्व संस्थापन पक्षकै भएको बताए ।
उनले सबैलाई समेट्ने प्रयास नभए आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा अझ खराब परिणाम आउन सक्ने चेतावनी पनि दिए । लगातार तीनवटा चुनाव हारिसकेपछि असफल नेतृत्वमाथि पुनः समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
पार्टी एकताका लागि उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्ने प्रस्ताव अघि सारे ।
उनले वर्तमान केन्द्रीय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव दिए ।
आफ्ना मागलाई बेवास्ता गरिए वैकल्पिक निर्णयमा पुग्न बाध्य हुने संकेत गर्दै नेता घिमिरेले कार्यकर्ताको रगत र पसिनाले बनेको पार्टीलाई सुदृढ बनाउन सामूहिक भावनाको खाँचो रहेको बताए । साथै, उनले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिका आधारमा अघि बढ्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया