कुटपिटबाट हात भाँचिएका शिक्षकमाथि मुद्दा चलाउन अधिकारकर्मीको माग !

लोकपथ
98
Shares

काठमाडौं । रुबी खान अर्थात् कुनै समयको चर्चित नाम । निर्मला कुर्मीको ‘हत्या’ वा मृत्यु प्रकरणमा न्यायका लागि भन्दै आवाज उठाउने पात्रका रूपमा चिनिएकी रुबी खान यति बेला फेरि अनसनमा छिन् ।

बाँकेको नेपालगन्जमा जिल्ला प्रशासन कार्यालय अगाडि रुबी खान समूहका ६ देखि ७ जना महिलाहरू दैनिकरुपमा ब्यानर लिएर आन्दोलनमा आइरहेका हुन्छन् । उनीहरूको प्रमुख माग छ, बाँकेका एसपी अंगुर जिसीमाथि कारबाही ।

रुबी खान समूहले बाँकेका एसपी अंगुर जिसीमाथि कारबाहीको माग गर्नुको कारण हो, खानले छाडिदिन भनेका व्यक्तिहरूलाई एसपी जिसीले मुद्दा चलाउनु । अनि रुबी खानका तर्फबाट पीडितमाथि नै मुद्दा चलाउने गरी दिएको जाहेरी प्रहरीले अस्वीकार गर्दै कुटपिटमा संलग्न व्यक्ति माथि नै मुद्दा चलाउनु ।

रुबी खानको असन्तुष्टि यतिमा मात्रै छैन, रुबी खानले सेटिङका लागि काठमाडौंमा ‘वार्ता’ गरेर लगेकी केही प्रहरी कर्मचारीलाई एसपी जिसीले सरुवा गरिदिएका थिए, जसबाट खान अझ बढी आक्रोशित छिन् ।

बाँकेका एसपी अंगुर जिसीले अभियन्ता रुबी खानको विपक्षमा हुने गरी एकपछि अर्को निर्णयहरू गरेपछि यति बेला नेपालगन्जकी अभियन्ता खानको माग भनेकै बाँकेका एसपी अंगुर जिसीलाई कारबाहीको छ । कारबाही अर्थात् उनलाई बाँकेबाट हटाएर अर्को एसपी पठाउनुपर्ने र एसपी जिसीले सरुवा गरिदिएका प्रहरीहरूलाई तुरुन्त पूर्ववत् जिम्मेवारी दिनुपर्ने ।
प्रहरीका एसपीको सरुवा नै मुख्य माग भए पनि यति बेला रुबी खान फेरि निर्मला कुर्मीको ‘हत्या’ को घटनालाई देखाएर फेरि आन्दोलनमा छिन् ।

आन्दोलनका क्रममा उनले राखेकी मागहरू यस्ता छन् :

बाँकेका एसपी अंगुर जिसीलाई कारबाहीको माग गर्दै सिडिओ कार्यालयअगाडि धर्नामा रुबी खानका समर्थकहरु ।

आन्दोलनको १ नम्बरमा रहेको माग नै एसपी अंगुर जिसीलाई कारबाही गर्न भनिएको छ ।

त्यसका कारणहरूमा पीडित शिक्षकमाथि नै मुद्दा चलाउन तथा पीडकलाई थुनामुक्त गर्न खानले दिएको दबाब प्रहरीले अस्वीकार गर्नु, सिर्जना बुढाको आत्महत्या मुद्दालाई ‘जलाएर मारिएको’ भनी मुद्दा दर्ता गर्न दिएको दबाब अस्वीकार गर्नु, स्कुलबाट आफ छुट्टीमा निस्किएर घर जाँदै गर्दा दुर्घटनामा मृत्यु भएका बालकको सन्दर्भमा विद्यालयका प्रिन्सिपल, व्यवस्थापन समितिका अध्यक्ष आदिमाथि मुद्दा नचलाइनु, निर्मला कुर्मीको ‘हत्या’ सम्बन्धी मुद्दा दायर नहुनु र निर्मला कुर्मीको ‘अनुसन्धान’ गरिरहेका प्रहरी कर्मचारीलाई पूर्ववत् जिम्मेवारी नै दिनुपर्ने लगायतका माग छन् ।

तहमा यी मागहरू साधारण नै देखिए पनि यसको वास्तविक चित्र भने फरक छ । रुबी खान पछिल्लो समय बाँकेमै एक एनजिओ चलाउँछिन् र त्यही एनजिओको आडमा मुद्दा मामिलामा काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा फाँटमा काम गर्ने एक जुनियर प्रहरी अधिकारीले बताए ।

बाँकेका एसपी अंगुर जिसीलाई कारबाहीको माग गर्दै सिडिओ कार्यालयअगाडि धर्नामा रुबी खानका समर्थकहरु ।

खानले कतिपय घटनाहरूमा अस्वाभाविक दबाब दिने, पीडक र पीडितलाई मिल्न दबाब दिने, मिलापत्र हुन नसक्ने घटनाहरूमा पनि मिलापत्र गर्न दबाब दिने र आफूले भनेको नमानेमा उल्टै पीडितमाथि नै मुद्दा लगाइदिने गरेको ती प्रहरी अधिकारीले बताए ।

खान निर्मला कुर्मीको न्यायका लागि भन्दै नेपालगन्जबाट काठमाडौंसम्म खाली खुट्टा नै आएर माइतीघरमा अनसन बसी सरकारसँग सम्झौता गरेर केही प्रहरी कर्मचारी लिएर गएकी थिइन् । ती प्रहरी कर्मचारीहरूले निर्मला कुर्मीको घटनाका सम्बन्धमा अनुसन्धान गरेका थिए र नियमित सरुवामा उनीहरूको सरुवा भएको थियो ।

निर्मला कुर्मीको ‘हत्या’सम्बन्धी घटनालाई लुकाउन प्रहरी कर्मचारीको सरुवा गरिएको भन्दै तत्कालीन सरकारसँग सम्झौता गरेर ती प्रहरी कर्मचारीहरू फिर्ता लगेकी खानले पछिल्लो समय तिनै प्रहरी कर्मचारीको प्रयोग गरी मुद्दा मिलाउने गरेको आरोप छ ।
निर्मला कुर्मीको हत्या प्रकरणमा अनुसन्धानका लागि लगिएका भनिएका प्रहरी कर्मचारीलाई नै प्रयोग गरेर खानले नहुने घटनामा पनि मिलापत्र गराएको, रकम लेनदेन गरेर मिलापत्र गराउने र जाहेरी दिएर छलफल गराउने गरेको बाँके प्रहरीको आन्तरिक छानबिनमा पाइएको थियो ।

यसरी छलफल गराउने, मिलापत्र गराउन भूमिका खेल्ने र खानको आर्थिक लाभका लागि काम गरिदिने गरेको जानकारीमा आएपछि एसपी जिसीले केही प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिदिएका थिए । सिभिलमा काम गर्ने एक प्रहरी हबल्दारलाई सिभिल र मुद्दाबाट हटाएर प्रहरी कार्यालयको गेटमा राखिदिएका थिए भने मुद्दा शाखाका केही प्रहरी कर्मचारीलाई समेत जिसीले सरुवा गरिदिएका थिए ।

आफ्ना सहयोगी प्रहरीको सरुवा भई सूचना दिने प्रहरी कर्मचारीहरू नभएपछि खानले सुरुमा एसपी जिसीलाई तुरुन्त ती प्रहरीलाई पूर्ववत् स्थानमै पदस्थापन गर्न दबाब दिएकी थिइन् । बाँके प्रहरीका एक अधिकृतले भने, ‘तर अंगुर सा’बले खानलाई उल्टै गाली गर्दै कहाँ खटाउने भन्ने तपाईँले भन्ने हो कि मैले गर्ने हो ?’ भनेपछि खान एसपी जिसीसँग आक्रोशित बनेकी थिइन् । त्यसपछि नै हुँदै नहुने विषयमा दबाब दिने, यो भएन त्यो भएन भन्दै कराउने गर्थिन्, अहिले त कारबाहीकै माग गर्न थालिन् ।’

पीडित शिक्षकमाथि नै कारबाहीको माग !
रुबी खानले पछिल्लो समय उठाएको विषय हो, कुटपिटबाट घाइते बनेका र हात नै भाँचिएका स्थानीय शिक्षक नारायण शर्मामाथि नै कारबाहीको माग । आफ्नै घरमा बसिरहेका बेला एक समूहले स्थानीय महेन्द्र बहुमुखी क्याम्पसका शिक्षक नारायण शर्मामाथि कुटपिट गरी हात नै भाँचिदिएको थियो । उक्त कुटपिटमा संलग्नलाई प्रहरीले मुद्दा चलाएपछि कुटपिट गर्नेलाई नभएर कुटाई खाने पीडित शिक्षकलाई नै मुद्दा चलाउनुपर्ने खानको माग थियो । त्यही विषयको विवाद बढ्दै जाँदा अहिले उनी फेरि निर्मला कुर्मीसम्मको विषय ल्याएर अनसन, धर्ना र आन्दोलनमा छिन् ।

के हो शिक्षक नारायणप्रसाद शर्मामाथिको कुटपिट घटना ?
स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत शिक्षक नारायण प्रसाद शर्मामाथि २०८३ वैशाख ३ गते उनको घरमै आक्रमण भएको थियो । नेपालगन्ज उपमहानगरपालिका १० विन्देवासिनी टोलमा रहेको शिक्षककै घरमा पुगेर करिब २० जनाको समूहले आक्रमण गरी शर्माको हात भाँचिदिएका थिए भने शरीरका अन्य भागमा समेत चोटपटक लागेको थियो ।

घाइते शिक्षक नारायणप्रसाद शर्मा ।

आक्रमणबाट घाइते बनेका पीडित शिक्षक शर्माले टिपाएको घटना विवरण कागज अनुसार पीडकहरूको बाख्राले पटक पटक आफ्नो घर अगाडिको अन्नबाली खाएपछि शर्माले एक बाख्रालाई नियन्त्रणमा लिएका थिए । त्यसभन्दा अगाडि पनि पटक पटक बाख्राहरू आफ्नो बारीमा आएर अन्नबाली खाँदा शर्माले बाख्रा हेर्दा आफ्नो बारीमा आउन नदिन बालिकालाई पटक पटक सचेत गराएका थिए । तर बालिकाहरूले वास्ता नगरेपछि उक्त दिन बाख्रा नै नियन्त्रणमा लिएर अभिभावकसँग कुरा गर्ने भन्दै अभिभावकलाई पठाउन शर्माले बालिकालाई भनेका थिए । शर्माले बाख्रा लिन आएकी बालिकालाई तिम्रो अभिभावकलाई बोलाऊ अनि मात्रै बाख्रा पठाउँछु भनी शर्माले बालिकालाई घरमा पठाइदिएका थिए ।

त्यसपछि बालिका त्यहाँबाट घरमा पुगेर उनका बुवा आमालाई घटनाबारे बताएपछि त्यसको केही समयमै करिब २० जनाको समूह शर्माको घरमा पुगेको थियो । उक्त समूहले शर्माको घरमै प्रवेश गरेर ढुङ्गा, इट्टा तथा घरेलु औजार प्रयोग गरेर शर्मा, उनकी श्रीमतीमाथि कुटपिट गरेका थिए । कुटपिट छुट्टाउन गएका अर्का एक छिमेकीमाथि पनि आक्रमण भएको थियो । आक्रमणपछि शर्माको हात भाँचिनुका साथै रगताम्मे अवस्थामै उनलाई उद्धार गरी पहिले प्रहरी कार्यालय लगी त्यहाँबाट नेपालगन्ज अस्पतालमा लगेर उपचार गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई तत्कालै पक्राउ समेत गरेको थियो । आक्रमणबाट पीडित शिक्षक हिन्दु समुदायका थिए भने आक्रमण गर्नेहरू मुस्लिम समुदायका व्यक्तिहरू थिए ।

पटक पटक आफ्नो अन्नबाली बाख्राले खाएपछि आजित भएका शर्माले छलफलका लागि बाख्रा नियन्त्रणमा लिँदा छलफल गर्नुको साटो आक्रमण गरी गम्भीर घाइते बनाउने व्यक्तिहरू पक्राउ परेपछि प्रहरीले उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको थियो ।

तर उक्त घटनामा मिलापत्र गराउनुपर्ने भन्दै महिला अधिकारकर्मी भनिएकी रुबी खानले बाँके प्रहरीलाई दबाब दिएकी थिइन् । बाँके प्रहरीले पनि स्थानीयबिच भएको झगडा भनेर मिलाउने प्रयास गरेको थियो । तर मिलापत्र हुन नसकेपछि ज्यान मार्ने उद्योगका रूपमा भएको घटनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा जाहेरी लिएर अनुसन्धान सुरु गरेको थियो । अहिले उनीहरू धरौटीमा रिहासमेत भइसकेका छन् ।

… अनि खानले पठाइन् पीडितमाथि नै मुद्दा दर्ता गर्न काउन्टर जाहेरी
जब बाँके प्रहरीले हात नै भाँचिने र रगताम्य हुने गरी भएको आक्रमणको घटनामा अनुसन्धान सुरु ग¥यो र रुबीको दबाब अस्वीकार गरिदियो, त्यसपछि रुबी खान केही व्यक्तिहरूलाई उचालेर उल्टै पीडित शिक्षकमाथि नै जाहेरी लिएर प्रहरी कार्यालयमा पुगिन् । खान स्वयम् प्रहरी कार्यालयमा उपस्थित नभई बाहिरै बसिन् र पीडित शिक्षकमाथि नै बाख्रालाई नियन्त्रणमा राखिएको, बालिकालाई शौचालयमा थुनेर राखेको र बाख्रा धनी महिला अर्थात् बालिकाकी आमालाई कुटपिट गरेको भन्दै काउन्टर जाहेरी दर्ता गर्न दबाब दिइन् ।

तर प्रहरी अनुसन्धानमा काउन्टर जाहेरी आफ्टर थट अर्थात् सोचविचार गरी दर्ताका लागि ल्याएको पाइएपछि प्रहरीले उक्त जाहेरी दर्ता नै गर्न मानेन । त्यसपछि आफ्नो दबदबा कमजोर भएको देखेपछि रुबी खानले स्थानीय करिब ६÷७ जना महिलाहरूलाई उचालेर सिडिओ कार्यालय अगाडि धर्नामा बस्ने र बाँकेका एसपी अंगुर जिसीमाथि कारबाहीको माग समेत गरेर धर्नामा राख्न थालेकी थिइन् ।

निर्मला कुर्मीको सम्बन्धमा लामो समय चुपचाप रहेकी खान त्यसपछि भने फेरि निर्मला कुर्मीकै कुरा ल्याउन थालिन् । निर्मला कुर्मीलाई बेपत्ता बनाउने व्यक्तिलाई तत्कालै पक्राउ गरी मुद्दा दायर गर्न दबाब दिन थालिन् । आफूले भनेको जस्तै भइरहेको समयमा चुपचाप बसेकी उनी आफ्ना अनुकूल निर्णय गरिदिने, मिलापत्र गरिदिने प्रहरी कर्मचारीको सरुवा भएपछि भने उनी ती प्रहरी कर्मचारीलाई फिर्ता ल्याउन दबाब दिन थालिन् । खानले पहिले आन्दोलन सुरु गर्दा राखेका मागहरूमा कहीँ कतै पनि निर्मला कुर्मीलाई बेपत्ता बनाउनेमाथि मुद्दा दायर गर्न भनिएको छैन ।

आफूले भनेजस्तो केही नभएपछि खानले हिन्दु र मुस्लिम समुदायको कुरा निकाल्दै आन्दोलन गर्न थालेपछि बाँके प्रहरीले रुबी खान लगायतका केही महिलालाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ समेत गरेको थियो । पक्राउपछि खानले प्रहरी हिरासतभित्रै आमरण अनसन सुरु गरेपछि प्रहरीले ४८ घण्टापछि हाजिरी जमानीमा छाडिदिएको थियो ।

पीडित शिक्षकमाथि कारबाहीको मागमा मोहना अन्सारी पनि !
यति बेला नेपाली कांग्रेसमा प्रवेश गरेकी महिला अधिकारकर्मी मोहना अन्सारीले समेत रुबी खानको आन्दोलनलाई साथ दिएकी छिन् । अन्सारीले रुबी खानले महिला हिंसाविरुद्ध आवाज उठाएकी र उनको ज्यान जोखिममा रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

मोहना महिला अधिकारकर्मी मात्रै नभएर अधिवक्ता समेत हुन् । अन्सारीले स्पष्टरुपमा कुटपिटबाट हात भाँचिएका शिक्षक नारायण प्रसाद शर्मालाई कारबाहीको माग नगरे पनि रुबी खानको आन्दोलनमा ऐक्यबद्धता जनाउनुले उनी पनि पीडित शिक्षकमाथि नै कारबाहीको माग गर्ने रुबी खानको सारथिका रूपमा देखिएकी छिन् । स्मरणीय के छ भने रुबी खान कुनै समय मोहना अन्सारीकै आड भरोसामा काठमाडौंसम्म आन्दोलनमा आएकी थिइन् ।

रुबी खानको पक्षमा अन्सारीले सामाजिक सञ्जालबाट जीवन रक्षाको अपिल गरेपछि ‘तपाईँ रुबी खानको कुन कुन मागमा सहमत हुनुहुन्छ ?’ भन्ने लोकपथको प्रश्नमा अधिवक्ता अन्सारीले आफूले रुबी खानको जीवन रक्षाको सम्बन्धमा बोलेको स्पष्ट पारिन् । अन्सारीले भनिन्, ‘उहाँले अरू के के माग राख्नुभएको छ, मलाई सबै थाहा छैन, तर उहाँ आमरण अनसनमा हुनुहुन्छ र जीवन खतरामा छ भन्ने थाहा छ, मैले उहाँको जीवन रक्षाका सम्बन्धमा मात्रै बोलेकी हुँ ।’

यता बाँके प्रहरी भने कुटपिटबाट घाइते बनाइएका र हात नै भाँचिएका व्यक्तिका विरुद्ध काउन्टर जाहेरी ल्याउँदैमा कारबाही गर्न नसकिने र शिक्षक शर्मामाथि लागेको आरोप पुष्टि हुन नसकेको बताउँछ । बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार शर्मामाथि पनि कारबाही हुनुपर्ने र मुद्दा चलाउन माग आएको भए पनि शिक्षक नारायणप्रसाद शर्माले बालिकालाई शौचालयमा थुनेको नदेखिएको र बालिकाका आमामाथि पनि कुनै दुर्व्यवहार वा कुटपिट गरेको नदेखिएकाले कारबाही अगाडि नबढेको हो ।

यति बेला रुबी खानको मुख्य माग भनेकै कुटपिट गरेर हात भाँचिएका शिक्षकलाई नै कारबाही हुनुपर्ने, जिम्मेवारी हेरफेर गरिएका प्रहरी हबल्दारलाई पूर्ववत् जिम्मा दिनुपर्ने, विद्यालयबाट भागेर घर जाँदै गरेका विद्यार्थीको दुर्घटनामा मृत्यु हुँदा विद्यालयका प्रिन्सिपल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई पनि मुद्दा चलाइनुपर्ने लगायतका माग छन् । सहायक मागका रूपमा भने निर्मला कुर्मीको हत्या वा बेपत्ताको घटनाको अनुसन्धान हुनुपर्ने माग रहेको छ ।

याे पनि …

अधिकारकर्मी रुबी खान : प्रहरी कार्यालयको सेटिङ भत्किएपछि प्रहरी प्रमुखमाथि नै कारबाहीको माग !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?