काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले मुलुकमा बढिरहेका सवारी दुर्घटनाका प्रमुख कारणबारे विज्ञहरूले गम्भीर ध्यान नदिएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले सडक सुरक्षासम्बन्धी वर्तमान अभ्यास र विज्ञहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन् ।
बैठकमा उनले सवारी दुर्घटनाको कारण सडकको अवस्था मात्र नभई चालकले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु र गाडीभित्र चर्को गीत–संगीत बजाउनु पनि रहेको बताए । यस्ता गतिविधिले चालकको ध्यान विचलित हुने भएकाले दुर्घटना बढिरहेको उनको दाबी थियो ।
सांसद राईले विसं २०३५ सालमा बेलायत सरकारको सहयोगमा निर्माण गरिएको धरान–धनकुटा सडक अहिले पनि टिकाउ रहेको उल्लेख गर्दै हाल निर्माण भइरहेका सडक योजनाको गुणस्तरमाथि प्रश्न उठाए । उनले लेउती खोला क्षेत्रमा वर्षेनी पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिइरहेको भन्दै सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्न नसकेको टिप्पणी गरे ।
उनले चीनमा छोटो समयमै ठुला पूर्वाधार निर्माण सम्पन्न हुने उदाहरण दिँदै नेपालमा पनि कार्यशैली सुधार आवश्यक रहेको बताए ।
आगामी कानुनमा सवारी चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था गर्नुपर्ने तथा पिकनिक वा यात्राका क्रममा गाडीभित्र चर्को नाचगान र डिजे शैलीको संगीत बजाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव पनि उनले दिए ।
कोशी राजमार्गलगायत राष्ट्रिय राजमार्ग कुनै पनि अवस्थामा लामो समय अवरुद्ध हुन नहुनेमा जोड दिँदै उनले सडक बन्द भए तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन समिति सभापतिसँग आग्रह गरे ।
देश निर्माणका लागि केवल भाषण नभई व्यवहारिक काम, सोच र पौरख आवश्यक रहेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया