लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ : अध्यक्ष शर्मा

लोकपथ
28
Shares

लिस्बन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएकी छन् ।

शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले मिडियाको सबल उपस्थितिले नै लोकतन्त्रलाई मजबुत बनाउने धारणा व्यक्त गरेकी हुन् ।

अध्यक्ष शर्माले प्रेस पूर्ण रूपमा स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै सरकारले मिडियामाथि कुनै पनि बहानामा अङ्कुश लगाउन नहुने बताएकी छन् । वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावका कारण पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उनले उल्लेख गरिन् । विशेषगरी सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको र यसले वास्तविक पत्रकारितामा नकारात्मक असर पारेको उनको विश्लेषण छ ।

सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै शर्माले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेकी छन् । पत्रकार र सञ्चारमाध्यम पनि समाजप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई सम्बोधन गर्दै उनले प्रवासी नेपाली समुदायका गतिविधि, उनीहरूका समस्या र अन्य जानकारीमूलक विषयमा समाचार प्रवाह गरी समाजमा योगदान पुर्‍याउन समेत आग्रह गरिन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको वर्तमान अवस्था, भोग्नुपरेका चुनौती र उपलब्ध अवसरका बारेमा आ-आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले प्रवासमा गरिने पत्रकारितालाई थप प्रभावकारी र मर्यादित बनाउन महासङ्घको केन्द्र र शाखाबीच बलियो समन्वय र संस्थागत सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?