कल्याणी माविमा बृहत स्वास्थ्य शिविर तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकपथ
70
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–८ मा रहेको श्री कल्याणीदेवी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार लायन्स क्लब अफ पोखरा महालक्ष्मीको सहयोग, वडा कार्यालयको समन्वय तथा कल्याणीदेवी माविको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीका अनुसार उक्त कार्यक्रममा ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही ५ हजारका दरले छात्रवृत्ति, ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । सो अवसरमा विद्यार्थी, अभिभावक तथा स्थानीय गरी करिब ५ सय जनाको निशुल्क आँखा परीक्षण, सुगर प्रेसरको जाँच र चस्मा तथा औषधि समेत वितरण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले नगरपालिकाको स्वास्थ्य, शिक्षा एवं सामाजिक विकासका लागि सहयोग पुर्‍याएकोमा लायन्स क्लब अफ पोखरा महालक्ष्मीलाई धन्यवाद ज्ञापन गरे । साथै आगामी दिनमा लायन्स क्लबसँग नगरपालिका सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताए ।

यता वडाध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि सुरेशलाल चित्रकारले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा लायन्स क्लबसँग वडा, नगर र विद्यालय समन्वय गर्न तयार रहेको बताए ।

यसैगरी लायन्स क्लब पोखरा महालक्ष्मीका अध्यक्ष रामप्रसाद खतिवडाले कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा सबै पक्षलाई धन्यवाद ज्ञापन गरे । साथै आगामी दिनमा आफूहरु वडा, नगर र विद्यालयसँग मिलेर काम गर्न तयार रहेको विश्वास व्यक्त गरे ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सुरेशलाल चित्रकार तथा विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनी विशेष अतिथि र कार्यक्रमको सभाध्यक्षमा लायन्स क्लब अफ पोखरा महालक्ष्मीका अध्यक्ष रामप्रसाद खतिवडा रहेका थिए ।

वडास्तरमा निशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोप्रति शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?