प्रहरी सेवामा राजु अर्यालको २८ वर्ष १ महिना : ‘आईजीपी हुन्छु भन्ने सोचेको थिइनँ’ [अन्तर्वार्ता]

‘म अब कुनै पनि लाभको पदमा जाँदिन’

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा २८ वर्ष १ महिना सेवा गरेर सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक राजु अर्याल २०८३ वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा गए । सशस्त्र प्रहरी महानिरीक्षकको ४ वर्षे पदावधिका कारण उनी प्रहरी सेवामा बिताउन पाउने ३० वर्षे सेवा अवधि र २३ महिना बाँकी रहँदै पनि उमेर हदमा ६ वर्ष बाँकी रहँदै ५२ वर्षको उमेरमा उनी उनले अवकाश पाएका हुन् ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएर उनी सशस्त्र प्रहरीमा डीएसपीमा बढुवासहित स्थानान्तरण भएका थिए । अर्यालले आफ्नो कार्यकालमा वर्ड परियोजना लागू गर्दै सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्वमा सहयोग र विपद् व्यवस्थापन तथा विपद्पछिको उद्धारका क्षेत्रमा महत्त्वपूर्ण काम गरे ।

आर्थिक मामिलामा इमानदार र सङ्गठनभित्र समान व्यवहार गर्ने महानिरीक्षकको छवि बनाएका अर्यालले २८ वर्षको प्रहरी सेवा र ४ वर्षको महानिरीक्षकको कार्यकालमा सम्भव भएसम्म सबैलाई सन्तुष्ट बनाउने प्रयास गरेको दाबी उनको छ । यद्यपि सङ्गठनभित्रका केही बढुवामा उनको विरोधसमेत भएको थियो । अर्यालको महानिरीक्षकको ४ वर्षे कार्यकाल र उतारचढाव आदिका सम्बन्धमा लोकपथका समाचार संयोजक मदन ढुङ्गानाले उनको अवकाशकै दिन उनीसँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

लोकपथ : औपचारिक रूपमा सशस्त्र प्रहरी बलको नेतृत्वबाट अवकाशमा जाँदै हुनुहुन्छ (यो अन्तर्वार्ता अवकाशमा जाने दिन १८ वैशाखमा लिइएको हो) । २८ वर्ष १ महिना प्रहरीमा सेवापछि यो अवकाशको घडीमा चाहिँ तपाईँलाई कस्तो अनुभूति भइरहेको छ ? प्रहरीको बर्दी फुकाल्दा नरमाइलो लागेको छ कि अब चाहिँ केही राहत मिल्यो भन्ने जस्तो भएको छ ?

राजु अर्याल : हैन रमाइलो छ, मलाई त रमाइलो लागेको छ । अब नयाँ इनिङ्स सुरु हुने भयो, एकदम मजा लागेको छ । किनभने आफूले सकेको गरियो, अब बाहिर बसेर सङ्गठनलाई सुधार्ने कुराहरूमा अझ पनि सहयोग भई नै हाल्छ । म त एकदम ह्याप्पी, खुसी छु । किनभने दुःखको बेलामा हामीले जागिर खाएको, द्वन्द्व थियो, २०५४ सालमा । त्यस्तो बेलामा जागिर खाएको अहिले चाहिँ यो सुखको बेला, सर्वोच्च पदमा पुगेँ । आफूले जानेको बुझेको गरेँ, जानेर नराम्रो गरिनँ । राम्रै गर्ने कोसिस गरियो भन्ने नै हो । त्यसकारण खुसी… एकदम खुसी भएर जाँदै छु अब ।

लोकपथ : तपाईँ २०५४ साल चैतको १८ गते नेपाल प्रहरीमा प्रवेश गरेर २०५८ जेठको ८ गते एपीएफमा पदोन्नतिसहित डीएसपी बनेर आउनुभयो । त्यतिबेला नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा आउनुको प्रेरणा के थियो ? किन सशस्त्रमै जान्छु जस्तो लाग्यो ? त्यतिबेला नै तपाईँलाई कालान्तरमा सशस्त्र प्रहरीको आईजीपी बन्छु भन्ने लागेको थियो ?

राजु अर्याल : कत्ति पनि थिएन । अब पहिला नेपाल प्रहरीमा हुँदा हामी द्वन्द्वग्रस्त र त्यो बेलामा माओवादीको आधार इलाकाहरू भन्थे रोल्पा, रुकुम, सल्यानतिर खटिएर गयौँ । जब त्यताबाट फर्केर आइयो तब त्यहाँको अवस्था कस्तो थियो भने प्रहरीलाई हातहतियारहरू जुन खालको दिनुपर्ने हो, त्यो थिएन । त्यसपछि सशस्त्र प्रहरी बल खुलेपछि अब हातहतियार पनि राम्रो आउँछ, ट्रेनिङहरू पनि राम्रो आउँछ । अब जागिर खाने नै भइसकेपछि ट्रेन्ड भएर खाऊँ, अलिकति इक्विप्ड भएर हतियारहरू पनि राम्रो हुन्छ भन्ने हिसाबले चाहिँ यता आएको हो ।

लोकपथ : तर कालान्तरमा म यो पोजिसनमा पुग्न सक्छु, म उच्च पदमा पुग्न सक्छु भन्ने कता कता त थियो होला नि त अपेक्षा ?

राजु अर्याल : त्यो बेला बाँच्ने र बचाउने मात्रै थियो । एकदम दुःखको बेला कहाँ एआईजी हुने, आईजीपी हुने कल्पना नै थिएन नि । सङ्गठन कस्तो हुन्छ भन्ने नै थाहा थिएन, को के हुन्छ थाहा नै थिएन ।

लोकपथ : मतलब सङ्गठनको निरन्तरताको कुनै सुनिश्चितता नै थिएन ?

राजु अर्याल : कुनै सुनिश्चितता थिएन । त्यो बेला त द्वन्द्व थियो, यो द्वन्द्व हटिदिए हुन्थ्यो, लडाइँ नभइदिए हुन्थ्यो, सबैले हतियार बिसाइदिए हुन्थ्यो, जनताले शान्ति पाए हुन्थ्यो भन्ने मात्रै थियो । जागिर खाने मान्छेलाई पनि आनन्द भए हुन्थ्यो भन्ने मात्रै थियो । त्यो अरू यो पदमा त्यस्तो कुनै थिएन । त्यस कारणले मैले भन्छु शान्ति ठूलो कुरा, सबैभन्दा ठूलो कुरा नै शान्ति । जसले द्वन्द्व देखेको छ, उसलाई शान्तिको महत्व हुन्छ । द्वन्द्व नदेख्ने मान्छेलाई शान्तिको महत्व हुन्न । त्यसकारण हामी द्वन्द्व देखिसकेको, भोगिसकेको मान्छेले र अब अहिलेको नयाँ पुस्ताले पनि पढेको त छ नि, बुझेको छ नि । त्यसकारण द्वन्द्व ल्याउने चाहिँ काम हामीले गर्नु हुन्न र मुख्य कुरा नै शान्ति हो भनेर बुझ्नुपर्छ ।

लोकपथ : तपाईँले द्वन्द्वको कुरा निकाल्नुभयो । तपाईँ जागिरमा प्रवेश गर्दा देशमा द्वन्द्व थियो र सशस्त्र प्रहरी बलको गठन नै द्वन्द्वको व्यवस्थापनको सम्बन्धमा भएको थियो । अझ २०५८ पछि त संकटकाल पनि लाग्यो । तपाईँ त्यही द्वन्द्वको बिचमा, लडाइँकै बिचमा आम्र्ड पुलिस फोर्सको रूपमा जानुभयो । त्यतिबेला तपाईँ आफैँ चाहिँ द्वन्द्व, गोला बारुद, भिडन्तहरूमा पर्नुभयो कि पर्नुभएन ? सामेल हुनुपर्‍यो कि परेन ? तपाईँको जीवनमा त्यस्तो म्याट्रिक कुनै घटनाको याद छ ?

राजु अर्याल : धेरै पर्‍यो त्यस्ता घटनाहरू त । अब समस्या हुन्थ्यो, कस्तो हुन्थ्यो भने कमान्डर भएपछि सबै जिम्मा लिनुपर्ने हुन्थ्यो । हामी सुरुमा नेपाल प्रहरीबाट इन्स्पेक्टर पछि सशस्त्रबाट डीएसपीमा खटियो । त्यहाँ कस्तो प्रेसर हुन्छ भने आफू मात्रै बाँचेर हुन्न, आफ्ना जवान, सबैलाई बचाउनुपर्छ, हतियार र युनिट बचाउनुपर्छ । कतिपय बेला त युनिट नै छोडेर जानुपर्ने स्थिति थियो । विशेषगरी जनयुद्ध दिवस अर्थात् फागुन १ गते त युनिट वा चौकी नै छाडेर बाहिरै बस्नुपर्थ्यो । किनभने बाहिर बस्दा त ओपन भयो नि त, लड्नलाई सजिलो हुन्थ्यो । भित्र चाहिँ कन्फाइन्ड हुन्छ । हो, डिफेन्समा भित्र राम्रो हो तर हातहतियार चाहिँ बलियो भयो, गतिलो भयो भने मात्रै डिफेन्समा राम्रो । त्यो नभएमा बाहिर नै ठिक हुन्थ्यो र त्यतिबेला हामी धेरै हिँड्नुपर्थ्यो । अब त्यसको धेरै कथाहरू छन्, त्यो विषयमा पछि कुरा गर्न सकिन्छ ।

लोकपथ : त्यही युद्धकलाको बिचमा तपाईँ जनपथ प्रहरीबाट सशस्त्रमा आउनुभयो । सबैभन्दा द्वन्द्वग्रस्त क्षेत्रहरू इलाकाहरूमा खटिनुभयो । परिवारले जागिर छोड्देऊ भनेर दबाब दिएनन् ?

राजु अर्याल : जागिर छाड्न दबाब त कि नदिनु ? म इन्स्पेक्टर हुँदा रोल्पा, रुकुम, सल्यान, प्युठान आदि क्षेत्रमा खटिँदा त परिवारमा सबै रुने, जागिर छोड्दे भन्ने नै भयो । जागिर छोड्ने त छाड्ने तर किन छाड्ने ? अनि जागिर छाडेर के गर्ने र के खाने भन्ने कुरा पनि भयो । त्यो एउटा आम मानिसमा हुने कुरा पनि भयो । परिवारको प्रेसर त परेकै थियो, तर जागिर छोडेर फेरि के गर्ने भन्ने भयो । किनभने जागिर खानलाई पनि सजिलो थिएन नै । लोकसेवा लडेर, हजारौँबाट छानिएर आएर, त्यत्रो कठिन तालिम गरेर सुरु गरेको जागिर छाड्न मन पनि लागेन र म सँग अर्को विकल्प पनि थिएन । त्यस कारण परिवारले दबाब बढाउँदै गए, म काममा खटिँदै गएँ ।

फेरि यो प्रहरीको जागिर कस्तो हो भने, जागिर खाने जोसुकै होस्, जवानदेखि आईजीपीसम्मै पनिस उसले आफ्नो कर्तव्य मात्रै पूरा गर्‍यो भने कुनै धर्म गर्नै पर्दैन, यो त्यस्तो चिज हो । प्रहरीको सेवा भनेको यस्तो सेवा हो र यो महत्त्वपूर्ण कुरा पनि हो । त्यस कारणले पनि मलाई आफ्नो मनबाट जागिर छाड्नुपर्छ वा छाड्छु जस्तो लाग्दै लागेन । किनभने योभन्दा पवित्र सेवा नै अरू छैन, अहिले पनि छैन, कहिल्यै पनि हुँदैन । अब सुख दुःख, लडाइँ, झै–झगडा त मान्छेको जीवनमा पर्ने कुराहरू नै हुन्, भई नै राख्छन् र त्यो स्वाभाविक हो ।

लोकपथ : तपाईँ पदोन्नति हुँदा इन्स्पेक्टरबाट डीएसपीमा आउँदा नि तपाईँको ब्याचीको तपाईँ एक नम्बरमै आउनुभयो । एसपी, एसएसपी, डीआईजी, एआईजी आदि सबैमा मलाई लाग्छ तपाईँ एक नम्बरमै पदोन्नति भइरहनुभयो । यसरी बढुवा हुँदा तपाईँ आफ्नो कामको आधारमा, आफ्नो कार्यसम्पादन मूल्यांकनको आधारमा अगाडि आइरहनुभयो कि तपाईँसँग पावर सेन्टर पनि थियो ?

राजु अर्याल : हैन त्यस्तो केही छैन । अब म त आईजीपी भएँ नि त । अब समाज कस्तो छ, समाजको प्रतिबिम्ब सबै सङ्गठनमा पनि हुन्छ, सबै सेक्टरमा जान्छ । त्यसकारण यो समाजदेखि नै धेरै कुराहरूमा हामीले सुधार गर्नुपर्ने हुन्छ । अब समाजमा भएका छिटाहरू त जहाँ पनि परिहाल्छन् ।

लोकपथ : अमूर्त जवाफ आयो, मैलेचाहिँ अलि मूर्त जवाफ खोजेको हो । 

राजु अर्याल : होइन, मूर्त जवाफ नै छैन । किन जवाफ छैन भने तपाईँले सोध्नु भयो अब आईजीपी कसरी भइस् ? पावर लगाएर भइस् अथवा आफ्नै क्षमताले भइस् भन्ने दुइटा कुरा भयो ।

लोकपथ : मैले सोध्न खोजेको चाहिँ पावर सेन्टर धाउनुपर्‍यो कि परेन ? तपाईँ क्षमतावान् हुँदा हुँदै पनि पावर सेन्टर नधाईकन नहुने वा क्षमता नभएर पनि पावर भएका मान्छेहरूले पावर सेन्टर धाउँदा आफू पछाडि पर्ने सम्भावना त रहन्छ नि त । त्यो हिसाबले पावर सेन्टर चाहिँ धाउनुपर्‍यो कि परेन भनेर सोधेको मैले खासमा ?

राजु अर्याल : त्यस्तो केही गर्नु परेन । 

लोकपथ : तपाईँ २०७९ वैशाख १९ गते सशस्त्र प्रहरीको १२ औँ महानिरीक्षक नियुक्त हुनुभयो । तर त्यो नियुक्तिको बेलामा तपाईँको नियुक्ति हुनुभन्दा ठिक एक दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको जानकारी दिएपनि तपाईँको विषय होल्ड गरियो । त्यसपछि हल्लाखल्ला भयो, नियुक्ति होल्ड गरेर बार्गेनिङ गरियो भन्ने कुनै विषय पनि आयो । तर भोलिपल्ट निर्णय सुनाउँदा चाहिँ तपाईँलाई पनि नियुक्त गरिएको निर्णय सुनाइयो । यो किन भएको रहेछ, पछि केही थाहा पाउनुभयो ?

राजु अर्याल : थाहा छैन, थाहा छैन । मलाई त्यस्तो केही थाहा छैन । त्यो मन्त्रिपरिषद्को कुरा त अब कसरी थाहा पाउने हामीले ।

लोकपथ : तर यो त सत्य हो नि, दुई वटै आईजीपी पद खाली थियो । त्यही दिन गर्नुपर्ने थियो, त्यही दिनको निर्णयमा भयो तर जानकारी गराइएन । 

राजु अर्याल : मलाई थाहा भएन त्यो । 

लोकपथ : एउटा आईजीपीको मात्रै निर्णयको कुरा आउँदा मनमा चिसो चाहिँ पसेको थियो कि थिएन ? किनभने तपाईँ त सिङ्गल एआईजी हुनुहुन्थ्यो ।

हाम्रो नियमावली एकदम फास्ट ट्रयाकको छ । फास्ट ट्रयाकको भनेको त्यो राम्रो गर्ने मान्छे अगाडि आउन सक्ने स्थिति छ । त्यो नियमावलीअनुसार भएको कुरा नै हो । अब विवाद त यो हुने मान्छे नहुने मान्छेले भन्ने कुरा हो । अब यसमा फेरि उजुरी हाल्ने व्यवस्था हुन्छ, नियमावलीले सबै कुराहरू व्यवस्था गरेको हुन्छ । त्यसकारण त्यहाँ फरक पार्न सकिँदैन, व्यक्तिले चाहेर गर्नै सक्दैन ।

राजु अर्याल : थिएन, थिएन । त्यो चिसो पनि मलाई पसेको थिएन । किनभने म एउटा डिसिजन लिएरै बसेको थिएँ, मेन्टल्ली प्रिपियर्ड भएर बसेको थिएँ ।

लोकपथ : भनेको अन्य केही भएमा पनि मेन्टली प्रिपेयर्ड हुनुहुन्थ्यो ? 

राजु अर्याल : हो, म मेन्टल्ली प्रिपेयर्ड थिएँ, त्यस्तो केही थिएन ।

लोकपथ : सशस्त्रकै सिनियर अफिसरहरू, पूर्व एआईजीहरू, नेपाल प्रहरीका पनि पूर्व एआईजीहरूले बेला बेलामा बोल्ने गरेका छन् कि मसँग रकम मागियो वा मैले पैसा बुझाउन सकिनँ त्यसैले आईजीपी भइनँ, म सिनियर हुँदाहुँदै म हुन सकिन भन्ने कुराहरू । त्यसको अर्थ जसले पैसा बुझायो त्यो चाहिँ आईजीपी भयो भन्ने नै होला । आईजी साब, तपाईँसँग पनि त्यस्तो बढुवाको क्रममा वा आईजीपी नियुक्त हुने क्रममा कुनै व्यक्ति, संस्था वा पार्टीले रकम माग गरे कि गरेनन् ?

राजु अर्याल : यो बदमास कुरा हो । अब त्यसो हुने हो भने सबैभन्दा धनी मान्छे आईजीपी हुनुपर्ने त ! इन्स्पेक्टरदेखि नै पैसा दिँदै जाँदाखेरि धनी मान्छे नै माथिल्लो पदमा पुग्नुपर्ने होइन र ? त्यस्तो कुरा होइन र मलाई त्यस्तो लाग्दैन । अब मान्छेले असन्तुष्टि पोख्दा म ठिक थिएँ तर यो कारणले मलाई बनाइएन भनेर कारण दिन्छन् । यी मान्छेहरूले कुनै सेक्टरमा पनि पोजेटिभ कुरा गर्दैनन् । मैले सबै क्षेत्र र पोलिटिकल पार्टी लगायत सबैसँग काम गरेँ । मैले अघि भनिहालेँ, समाजअनुसार पोलिटिकल पार्टी पनि चल्छ, समाज अनुसार अर्गनाइजेसन पनि चल्छ, तर सबै कुरा किनबेचमा हुन्न । यदि सबै कुरा किनबेचमा हुने हो भने त यहाँ देशै रहन्थ्यो नि । केही बाछिटा चाहिँ अझै पनि बाँकी छन् भन्ने हो । अब त्यो त समाजअनुसार नै चल्ने भइहाल्यो नि ।

लोकपथ : तपाईँ एक डीआईजीबाट एआईजी बनेको ६ दिनमै आईजीपी बन्नुभयो  । अझ सोझै डीआईजीबाट आईजीपी नै भनौँ न, त्यसो हुँदा एआईजीको राम्रो कार्य अनुभव नहुँदा आईजीपी बनेर चलाउन केही गाह्रो वा अनुभवको अभाव खड्कियो कि खड्किएन ?

राजु अर्याल : अब अनुभवको अभाव खड्कियो कि खड्किएन चाहिँ अरूले फिल गरेको होला । मलाई चाहिँ के भयो भने अलिकति चाँडै नै भएँ म । मेरा साथीहरू उता नेपाल प्रहरीपट्टि एसपी नै भए जस्तो लाग्छ मलाई । अहिले हाम्रो दानबहादुर साबहरू हुनुभयो, अरू साथीहरू एआईजी, डीआईजी सम्म हुनुहुन्छ सबै । अब त्यो बेला चाहिँ जोस थियो । आईजीपी हुन्छु भनेर हिँडेको व्यक्ति जोस त थियो नै । त्यही जोसले आईजीको अनुभव भन्दा पनि अहिलेसम्म गरेको कामको हिसाबले पेलेर गइयो, ठिक ठाउँमा पर्‍यो भन्नुपर्‍यो । तर अहिले मैले जति अनुभव कमाएँ, त्यो बेला थिएन । अहिले चाहिँ अलिअलि डर लाग्छ ।

लोकपथ : अहिले चाहिँ डर लाग्छ ?

राजु अर्याल : अलिअलि लाग्छ । त्यतिबेला कतै बिग्रेको भए के हुन्थ्यो होला भन्ने खालको डरचाहिँ अहिले लाग्छ ।

लोकपथ : तपाईँ आईजीपी भएको पाँच महिनापछि सीमा सुरक्षा विभाग खडा गरियो । त्यतिबेला यो तपाईँकै योजना थियो कि केन्द्रीय सरकारको योजनामा तपाईँले नयाँ एआईजीको दरबन्दी थप्नका लागि गर्नुभएको थियो ? 

राजु अर्याल : सीमा सुरक्षा विभाग हामीलाई चाहिने नै थियो । एआईजी दरबन्दी पनि हामीलाई चाहिन्छ । अहिले पनि रेसियो हेर्नु, अन्य सुरक्षा सङ्गठन भन्दा हाम्रो एआईजीको दरबन्दी कम छ । हाम्रो पुनर्संरचना पनि गर्नुपर्ने छ । हाम्रो सङ्गठनले गर्ने काम जस्तै अहिले हामीले बीआईआरडी (द्यक्ष्च्म्) भनेर बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रेभिन्यू र डिजास्टर भनेर एउटा प्रायोरिटाइज गरेका छौँ कामलाई । यसमा प्रत्येक डिपार्टमेन्टमा अनि अब टेक्नोलोजी र इन्टेलिजेन्स पनि थप्नुपर्ने छ । अब एआईजी त अझ हाम्रा लागि दुई–तीन वटा थप चाहिने हुन्छ । तर त्यसको लागि देशको परिस्थिति, आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ । तर पनि एआईजीको दरबन्दी र अन्य कर्मचारीको सङ्ख्या त सशस्त्र प्रहरी बलमा जति सकिन्छ बढी चाहिने अवस्था छ । 

लोकपथ : भनेको अझै कति कति थप्नुपर्ने ? जस्तै अहिलेको तपाईँको सङ्गठन, कामको चाप आदि हेर्दा अझै कति जना एआईजी थप्नुपर्ने हो ? एआईजी थप्दा त जवानदेखि थपिँदै जाने होला ?

राजु अर्याल : हो, जवानदेखि नै थपिन्छ । सशस्त्रमा ६० हजार जनशक्ति पुराउनुपर्छ, हाम्रो म्यान्डेट अनुसार बेसिक काम गर्न पनि त्यति त चाहिन्छ ।

लोकपथ : त्यसो हुँदा एआईजीको दरबन्दी कति वटा हुनुपर्छ ?

राजु अर्याल : त्यो त ओएन्डएम (O&M) भएपछि छलफल गरेर त्यो एउटा चेन अफ कमान्डमा हुन्छ ।

लोकपथ : तपाईँहरूले पहिला प्रस्ताव त गर्नुभएको थियो रे नि त ?

राजु अर्याल : पहिला त हाम्रो चाहिँ सबै प्रदेशमा एआईजीको कमान्डमा थियो । एआईजी कमान्ड आइसकेको पनि हो, फेरि गयो त्यो । अब त्यसलाई पनि रिभ्यू गर्न सकिन्छ, प्रदेश प्रदेशमा हुँदा झन् राम्रो हुन्छ । 

लोकपथ : तपाईँ सङ्गठनमा तल्लो तहमा बस्दा तपाईँले सधैँ वरिष्ठताको वकालत गरिरहनुभयो, त्यो आफ्नो स्वार्थको लागि पनि हुनुपर्छ । वरिष्ठताको आधारमा लैजानुपर्छ, कामको आधारमा लैजानुपर्छ भनेर गरिरहनुभयो । तर तपाईँले डीआईजीको वरीयतामा पहिलो नम्बरमा रहेको कमल गिरीलाई चाहिँ छाडेर पछि पारेर दोस्रो नम्बरका गणेश ठाडा मगरलाई एआईजी बनाउनुभयो । त्यसैगरी सिसं १ का एसएसपी मनिष थापालाई डीआईजी नबनाएर सिसं २ का दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बनाउनुभयो । तपाईँको यो व्यवहारले तपाईँले पहिलेदेखि गर्नुभएको वरिष्ठताको वकालतलाई केही असर गर्‍यो वा फरक पर्‍यो भन्ने लाग्छ ?

राजु अर्याल : वरिष्ठता मात्रै भन्ने हुँदैन । कुरा के भने वरिष्ठता, कार्यसम्पादन र दक्षता सबै कुरा चाहिन्छ । त्यहाँमाथि यो मैले गर्ने भन्ने कुरै हुँदैन, त्यो सबै नम्बरहरू राखिसकेको हुन्छ । कार्यसम्पादन नम्बरहरू सबै राखिसकेका हुन्छन्, त्यही अनुसारले निस्किने हो । नर्मल्ली चाहिँ वरिष्ठ निस्किन्छ भन्ने हो तर एक दिनको मान्छे चाहिँ जो पनि निस्किन सक्ने हुन्छ । फरक भयो भने पनि ज्येष्ठताको नम्बर र कार्यसम्पादनको नम्बरले देख्यो भने पछाडिको मान्छे पनि आउन सक्ने हुन्छ । मात्रै एउटा कुरा के हो भने मैले पक्षपात गरेर यसलाई ल्याउनुपर्छ र यसलाई फाल्नुपर्छ भन्ने हिसाबमा काम गरिनँ, महत्त्वपूर्ण कुरा त्यति हो ।

लोकपथ : वरिष्ठता मात्रै हेर्‍यो भने त फेरि पछाडिको मान्छेले किन काम गर्ने भन्ने पनि होला नि ?

राजु अर्याल : हो त । जस्तै ट्रेनिङमा एक नम्बरमा आए सधैँभरि एक नम्बरमा गए भइहाल्यो नि । त्यस्ता कुराहरू पनि आउँछन् । त्यसकारण सबै पाटोबाट हेर्नुपर्ने हुन्छ ।

लोकपथ : तपाईँको कार्यकालको अन्तिम क्षणमा भएको डीआईजी र एसएसपी बढुवा सिफारिस पनि विवादमा पर्‍यो । जस्तै एसएसपीमा एक वर्ष जुनियर राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई अगाडिका सिनियरहरूलाई पछि पार्दै डीआईजीमा बढुवा गर्‍यो भनेर आरोप लाग्यो । त्यहीअघिकै कुरालाई सपोर्ट गर्नुहुन्छ कि फरक छ ?

राजु अर्याल : हाम्रो नियमावली एकदम फास्ट ट्रयाकको छ । फास्ट ट्रयाकको भनेको त्यो राम्रो गर्ने मान्छे अगाडि आउन सक्ने स्थिति छ । त्यो नियमावलीअनुसार भएको कुरा नै हो । अब विवाद त यो हुने मान्छे नहुने मान्छेले भन्ने कुरा हो । अब यसमा फेरि उजुरी हाल्ने व्यवस्था हुन्छ, नियमावलीले सबै कुराहरू व्यवस्था गरेको हुन्छ । त्यसकारण त्यहाँ फरक पार्न सकिँदैन, व्यक्तिले चाहेर गर्नै सक्दैन ।

लोकपथ : तपाईँकै कार्याकालमा भएको युएन मिसनमा पठाउने उत्कृष्ट भनिने तर कोटाका व्यक्तिहरूको विषय विवादमा आयो । प्रधानमन्त्री, गृहमन्त्री, राजनीतिक दलका नेता, आईजी आफैँले पनि उत्कृष्ट भन्दै आफ्ना व्यक्तिलाई च्यापे भन्ने आरोप लाग्यो र त्यो विषयमा हामीले समाचार पनि लेख्यौँ । दोस्रोमा तपाईँले केही सुधार गर्नुभयो ? 

राजु अर्याल : सबैमा करेक्सन हुन्छ । त्यो उत्कृष्ट काम गरेको मान्छेहरूको कोटा हुन्छ । उत्कृष्टलाई भीआईपी भनेर बिगारेको चाहिँ विशेषगरी अनलाइन मिडियाले हो । अनि पढ्नेले त्यही पढ्छन्, त्यही बुझ्छन् । त्यो भीआईपी सेवाको कोटा होइन, उत्कृष्ट कोटा हो । उत्कृष्ट कोटा भएपछि उत्कृष्ट कोटामा नै जान्छ । अब प्राइम मिनिस्टरको सेक्युरिटी गरेको वा गाडी चलाएको व्यक्तिले उत्कृष्ट काम गर्‍यो नि त, उत्कृष्ट काम भयो नि त, त्यो हिसाबले पनि परेको हो । एपीएफको हाम्रो मिसनको छनोटको प्रक्रिया नेपालमा अरू सङ्गठनहरूले फेयर कसरी गर्ने भन्ने सिके हुन्छ, हामीमा त्यो छ । त्यो सिकेर गरे हुन्छ विवाद ल्याउनुपर्ने त कुरै छैन ।

लोकपथ : मेरो मान्छेलाई मिसनमा पठाइदेउ भनेर सिफारिस चाहिँ आउँछ कि आउँदैन ?

राजु अर्याल : त्यो त भनिहाल्छ, त्यो त सबैले भन्छ, त्यो मान्छेले कुरा बुझेको छैन र । त्यो त अब तपाईँले भन्नुहोला, अर्कोले भन्ला । तर त्यसरी जाँदैन ।

लोकपथ : भनेको तपाईँहरूको आफ्नै मापदण्डको आधारमा मात्रै हुन्छ ? 

राजु अर्याल : आफ्नै मापदण्डमा जान्छ । फेयर नै गरिएको छ भन्ने नै हो र फेयर नै भएको छ ।

लोकपथ : तपाईँकै कार्यकालमा एउटा ठूलो घटना भयो – जेनजी आन्दोलन । त्यो आन्दोलनमा धेरै व्यक्तिको मृत्यु भयो । त्यसमा पछि जाँचबुझ आयोग पनि बन्यो । आयोगले तपाईँलाई पनि दोषी देखायो, सशस्त्र प्रहरीले पनि गोली प्रहार गरेर अत्यधिक बल प्रयोग गर्‍यो भनेर तपाईँ र अन्य तीन जनालाई पनि कारबाहीको सिफारिस गर्‍यो । आयोगले तपाईँलाई दोषी ठहराउँदा कस्तो अनुभूति भयो तपाईँलाई ?

राजु अर्याल : केही अनुभूति भएन । यो हामी बन्दुक लिएर हिँड्ने मान्छे, त्यो फिल हुँदैन । अब सरकारले जे जे गर्छ, हेर्दै जाने हो । 

लोकपथ : कहिले किन गोली चलाइस् भनेर सोध्छ, कहिले किन गोली चलाइनस् भनेर भन्छ । कर्तव्य पालनाको सिलसिलामा गोली चलाउने वा चल्ने कुरालाई यति धेरै विवादमा ल्याउनु वा तान्नुलाई तपाईँ कसरी हेर्नुहुन्छ ?

राजु अर्याल : मान्छेले कुरा नबुझ्ने देशमा यस्तै हुन्छ । सुरक्षा सुरक्षा मात्रै हो र यसलाई सुरक्षाको हिसाबले मात्र हेर्नुपर्छ । हामीले आफ्नो जिम्मेवारी पूरा गरेको हो, अब नबुझ्ने मान्छेले चाहिँ गर्ने कुराहरू हुन् ती । यस्तो गरे उस्तो गरे, त्यो उनीहरूको काम हो । गोली चलाउने, नचलाउने, कसरी गर्ने भन्ने त सुरक्षाको काम हो, ऐन कानुनको काम हो ।

लोकपथ : तपाईँले एउटा अचम्मको प्रस्ताव लिएर जानुभएको थियो, सशस्त्र प्रहरीको आईजीपीको कार्यकाल चार वर्षको हुने व्यवस्था हटाएर ३ वर्ष कायम गर्न । तपाईँले आफ्नै कार्यकाल समेत घट्न सक्ने अवस्था हुँदाहुँदै तीन वर्ष बनाऊँ भनेर मस्यौदा पठाउनुभयो । धेरै पदाधिकारीहरू आफ्नो कार्यकाल बढाउन लागि पर्छन् । तपाईँ आफ्नै कार्यकाल घटाउन किन लाग्नुभएको थियो ?

राजु अर्याल : ४ वर्ष लामो कार्यकाल हाई प्रेसरको काम हुन्छ । यो इन्टिग्रिटीसहित काम गर्दा चार वर्ष धेरै लामो हुन्छ । त्यो हिसाबले यसलाई घटाउँदा साइन्टिफिक पनि हुन्छ भनेर प्रस्ताव गरेको हो । मान्छे कुनै पनि पदमा बसेपछि ऊर्जाशील हिसाबले काम गर्न सकोस् न । ऊर्जा हराउँदै गएपछि त्यो पदमा ओगटेर बस्नु हुन्न भन्ने कुरा हो । चार वर्ष धेरै लामो हुने भएकाले मैले अरूको पालामा भन्दा पक्षपात गरे जस्तो हुन्छ भनेर आफैबाट सुरु गर्न खोजेको हो । दोस्रो कुरा पदमा बस्नु मात्रै हुँदैन, अलिअलि त्याग पनि गर्नुपर्छ भनेर अरूले पनि बुझुन् भनेर पनि गर्न खोजेको हो । हाम्रो सोसाइटीले त्यो कुरा बुझ्नु जरुरी पनि छ भन्ने हिसाबले गरेको हो ।

अरूले आठ घण्टा ड्युटी गर्छ, हाम्रो मान्छेले २४ घण्टा ड्युटी गर्छ । खास भन्ने हो भने त हाम्रो तलब नै तीन गुणा हुनुपर्ने हो । तर अब देशको आर्थिक अवस्था यस्तो छ, मैले माग्न खोजेको त होइन कि दुःख त्यति धेरै छ भनेको हो ।

लोकपथ : त्यसमा तपाईँ अहिले पनि अडिग नै हुनुहुन्छ ? 

राजु अर्याल : एकदम अडिग छु ।

लोकपथ : त्यसो भयो भने त तल रहेका कर्मचारीहरूको बढुवामा पनि फरक पार्छ नि होइन ? 

राजु अर्याल : फरक पार्छ नि । बढुवा भनेको लिमिट पद हुन्छ । पद लिमिट भएकाले जो मान्छे जुन पदमा छ, त्यो पदमा खुसी भएर बस्नुपर्छ, खुसी भएन भने जानुपर्छ । असन्तुष्ट भएर, दुःखी भएर सेक्युरिटी एजेन्सीमा बस्ने अधिकार रहन्न, कसैको पनि रहन्न । यो कुरामा चाहिँ हामीले विचार गर्नुपर्छ । अनि माथिको पदमा धेरै बस्ने होइन, त्यो चाहिँ सम्मानको पद हो र त्यहाँ धेरै दुःख गरेर आएको हुन्छ । अरूले आठ घण्टा ड्युटी गर्छ, हाम्रो मान्छेले २४ घण्टा ड्युटी गर्छ । खास भन्ने हो भने त हाम्रो तलब नै तीन गुणा हुनुपर्ने हो । तर अब देशको आर्थिक अवस्था यस्तो छ, मैले माग्न खोजेको त होइन कि दुःख त्यति धेरै छ भनेको हो ।

कम्तीमा प्रहरीलाई सम्मान त गरिदिए हुन्थ्यो नि भन्ने कुराचाहिँ म गर्छु । किनभने युनिफर्म लगाएर बाटोमा बसिरा’छ भनेपछि नागरिकले पनि रेस्पेक्ट त दिनुपर्छ नि । किनभने रेस्पेक्ट दिइसकेपछि त्यसको कार्यसम्पादन पनि राम्रो हुन्छ । ए म यसरी खट्या छु मैले कम्तीमा सम्मान त पाएको छु नि भन्छ नि । अनि एक सय जना युनिफर्मवालामा एउटाले गल्ती गर्‍यो भने बाँकी ९९ जनाले पनि गल्ती गरेको देखिन्छ, त्यो कुरामा सुधार गर्नुपर्छ हामीले । अब समाजमा, परिवारमा, आफ्नो नातागोतामा कोहीले क्राइम पनि गरेका होलान्, तर सबैले क्राइम गरे भन्न त मिलेन नि ।

लोकपथ : तपाईँले एउटा राम्रो प्रोजेक्ट ल्याउनुभयो बीआईआरडी (BIRD) । यो चारमध्ये तपाईँलाई गर्व गर्न लायक र यो चाहिँ मैले एकदम राम्रो गर्न सकेँ भनेको कुनै एक लिनु पर्‍यो भने कुनलाई लिनु हुन्छ ?

राजु अर्याल : गर्न त सबैमा गरेका छौँ तर बोर्डर सेक्युरिटीमा हामीले अन्यत्र भन्दा राम्रो गरेका छौँ । अनि प्रायोरिटाइज गर्दा बोर्डरमा हामीले बढी फोकस गरेर कतिपय कुराहरू सुरु भइसक्या छ र कति कुरा पाइपलाइनमा छन् । यसले भविष्यमा दूरगामी रूपमा राज्यको सीमालाई बलियो बनाउने कुरामा, राजस्व चुहावट नियन्त्रण र चोरी पैठारी कम गर्ने कुरामा हामीले धेरै काम गरेका छौँ । विशेष गरी हाम्रा सकल दर्जाका कर्मचारीको साइकोलोजी चेन्ज भएको छ । हामी इमानदार हुनुपर्छ भन्ने खालको कुरा सबैमा भित्रैबाट आएको छ । जब भित्रबाट सोच पलाउँदैन, तबसम्म हुँदैन । हामी अरूसँग तुलना गरेर यसले यस्तो गर्‍यो उसले उस्तो गर्‍यो भन्ने होइन, हामी राम्रो गर्नुपर्छ भन्ने चाहिँ हामीमा तल्लो लेभलसम्म भावना विकास भएको छ । यो नेक्ससमा काम भयो, सेटिङ गरेर खायो, यस्तो गर्‍यो भन्ने कुरा हटेको छ । 

अनि अहिले हामीले सीमाका पिल्लरहरू आफैँ मर्मत गर्छौँ, हामी हेर्छौँ, रेखदेख गर्छौँ । पेट्रोलिङहरू २४ सै घण्टा र सातै दिन गरिरहेका छौँ । त्यो हिसाबले सीमा सुरक्षामा हामीले राम्रो गरिरहेका छौँ ।

लोकपथ : सशस्त्र भन्ने बित्तिकै विपद् व्यवस्थापन सबभन्दा पहिला दिमागमा आउने गर्छ । विपद्पछि उद्धारमा सशस्त्र सबैभन्दा अगाडि छ । यसमा डिजास्टरको सम्बन्धमा तपाईँलाई खड्किएको कुरा चाहिँ के छ ?

राजु अर्याल : हामीसँग इक्विपमेन्ट नै छैन । डिजास्टर कस्तो हो भने हामीले सेफ्टी नपुर्‍याएको कारणले पूर्वानुमान अनुसार त्यहाँ डिप्लोई गरेर त्यो खालको इक्विपमेन्ट नदिएको कारणले सयौँको ज्यान जान सक्छ । ज्यान जाने ठूलो कुरा हो नि त । त्यस्तो कुरामा हामी अझ सचेत हुनुपर्छ । यसमा बजेटहरू बढाएर अलि सशक्त बनाएर दुर्घटनाले कसैको पनि ज्यान नजाओस् भनेर त्यसमा अझै गर्न सकिएन भन्ने लाग्छ मलाई ।

लोकपथ : सशस्त्र प्रहरीको नेतृत्वमा रहँदा सबैभन्दा बढी चिन्ता भइरहने विषय चाहिँ के थियो ?

राजु अर्याल : चिन्ता हुने विषय नै मुख्य त विपद् वा दुर्घटना नै हो । बस त्रिशूलीमा खस्छ अब कसरी ज्यान बचाउने, कसरी निकाल्ने, कसरी जोगाउने जस्ता चिन्ताहरू हुनु स्वभाविकै भो । र, कमान्डर भइसकेपछि आफ्नो कुनै पनि दर्जाले कतै केही गल्ती गर्छ कि ? गल्ती नगर्दिए हुन्थ्यो भन्ने हुन्छ । बढी डर विपद् र कसैले कमजोरी गरिहाल्छ कि भन्ने नै हुन्थ्यो । 

लोकपथ : तपाईँ एकजना मात्रै आईजीपी हुनुहुन्छ जसले दुई वटा प्रतिनिधिसभा  र एउटा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुभयो । त्यसलाई चाहिँ उपलब्धिको रूपमा हेर्नुहुन्छ कि सामान्यरुपमा ?

राजु अर्याल : उपलब्धि नै हो । यो आवधिक निर्वाचन र रेगुलर हुने निर्वाचनको छुट्टै महत्त्व छ । निर्वाचन मात्रै होइन, त्यो राष्ट्रको सबै चिज हो नि । अब अस्ति फागुन २१ को निर्वाचन त अझ महत्वपूर्ण थियो., जुन सम्पन्न गरियो । यो चाहिँ सुरक्षाको इन्टिग्रेटेड रूपमा सबैजना मिलेर गरेपछि हुँदो रहेछ भन्ने र हाम्रो क्षमता प्रमाणित गर्ने अवसर पनि थियो ।

लोकपथ : अरू बेलाको भन्दा फागुन २१ को निर्वाचन त अझ जटिल थियो । तपाईँलाई यति सहज ढङ्गले निर्वाचन होला, हामीले सुरक्षा प्रदान गर्न सकौँला भन्ने अपेक्षा थियो ?

राजु अर्याल : यत्तिकै हुन्छ भन्ने चाहिँ थिएन । तर हामीले मेहनत यस्तो गरेका थियौँ कि हामीले तयारीको लागि गरेको मेहनतले काम गर्‍यो । तयारी भनेको त्यस्तो महत्त्वपूर्ण हुने रहेछ भन्ने प्रमाणित भयो ।

लोकपथ : भनेपछि अरू पटकको भन्दा यस पटकको तयारी अझ उच्चस्तरको थियो ?

राजु अर्याल : बढी चाहिँ डराइयो नि त, केही होला भनेर । त्यो हिसाबले बढी तयारी भो । खेलकुदमा पनि खेलाडीले पनि अब जित्नै पर्छ यो हारिएला भनेर अलिकति सचेत भो भने त बढी अभ्यास गर्ने भयो । त्यस कारण हरेक कुरामा अभ्यासले रिजल्ट राम्रो दिने रहेछ, यो सिक्ने कुरा पनि छ ।

लोकपथ : यो तीन वटा निर्वाचनको सफलताले तपाईँलाई राजनीतिक वा संवैधानिक नियुक्तिमा सहजीकरण गरिदियो भन्न मिल्छ ? 

राजु अर्याल : हैन हैन । म राजनीति र सरकारी संयन्त्रमा जाँदिन र जान मन पनि छैन । अब फेरि त्यसो भनेर राष्ट्रलाई चाहियो भने मैले नगर्ने भन्ने होइन । राष्ट्रलाई चाहिँदा मैले पदमा नबसीकन जुनसुकै पनि सल्लाह सुझाव दिन्छु । रातभरि खटिएर काम गर्ने म सुझाव सल्लाह दिन तयार छु । म पदमा बसेर तलब लिएर चाहिँ न यो राजनीति गर्छु न चाहिँ कुनै अपोइन्टमेन्ट लिन्छु ।

लोकपथ : सरकारले जिम्मेवारी दिएको अवस्थामा ?

राजु अर्याल : सामान्य परिस्थितिमा म लिन्न । त्यसमा फेरि म भाग्ने मान्छे भने होइन । मैले भन्न खोजेको कुरा के हो भने मलाई त्यसमा कुनै चाह र लक्ष्य छैन ।

लोकपथ : भनेको कुनै लाभको पदको लोभ छैन भन्न खोज्नुभएको ?

राजु अर्याल : लोभ छैन, म लिँदै लिन्न । अब भोलि एकदम विषम परिस्थिति भयो भने त्यो कुरा छुट्टै कुरा होला । तर मान्छेले सोचे जस्तो म सिपाहीमा आएर, महानिरीक्षक भएँ, मेरो सबैभन्दा ठूलो पदै यही हो । अब मलाई अरू पद लिनु नै छैन ।

लोकपथ : तपाईँले भनिहाल्नुभयो कुनै पद लिन्न भनेर । अहिले त तपाईँ भर्खर ५२ वर्षको हुनुभयो, तपाईँको सक्रिय जीवन त धेरै बाँकी छ नि । के गर्नुहुन्छ त ?

राजु अर्याल : अरू अरू ठाउँ छन् नि, मेरो आफ्नो जिन्दगी पनि बिताउनु पर्छ । अब आफ्नो जिन्दगी बिताउने । 

लोकपथ : के गर्ने ? व्यापार व्यवसायहरू गर्ने कि अरू केही ? 

राजु अर्याल : अँ, व्यापार व्यवसाय पनि गर्न सकिन्छ नि । पारिवारिक कुराहरू हुन्छन् । मलाई कृषि कर्म पनि गर्न मन छ । व्यापार व्यवसाय वा मासिक खर्च पुग्ने हिसाबले केही काम गर्न सकिएला नि । ठूलो व्यापार गर्ने भन्ने त मेरो मनमा छैन ।

लोकपथ : मैले तपाईँका केही अफिसरहरूसँग कुरा गरेको थिएँ आर्थिक मामलामा चाहिँ तपाईँलाई साह्रै इमानदार मान्दा रहेछन्, । केही अफिसरले त राजु अर्यालको फोटो घरको भित्तामा झुन्ड्याएर राख्छु पनि भन्दा रहेछन् । केही त्यस्ता अफिसर पनि छन्, जो राजु अर्याललाई देखिसहन सक्दैनन् । यी दुवै खाले धारलाई सँगै लिएर जानुपर्दा चाहिँ कस्तो अनुभूति भयो तपाईँलाई ?

राजु अर्याल : अब मुख्य कुरा सिस्टम हुन्छ भने जुनसुकै अर्गनाइजेसनमा पनि राम्रो हुन्छ । मलाई यो मेरो मान्छे, यो अरूको मान्छे भन्ने फिलिङ्स कहिल्यै पनि भएन, आजसम्म पनि छैन । मेरै विरोध गर्ने मान्छेहरू पनि अथवा मेरो पोलिसिको विरोध गर्ने यसले गरेको यो ठिक भएन भन्नेहरूलाई पनि मैले न्याय नै गरेको छु जस्तो लाग्छ ।

जस्तो सरुवा बढुवामा सबैले चित्त बुझ्दैन, त्यो भन्ने मान्छेहरू पनि अब यसलाई त्यस्तै लाग्यो होला अब काममा चाहिँ यसले आफ्नो ठाउँ अनुसार गर्नै पर्‍यो । उसले दिएको जिम्मेवारी पूरा गर्छ भने यस्तो कुराहरूलाई त लिडरले, कमान्डरले लिनै हुँदैन । यसलाई एकदम इग्नोर गर्दिनु पर्छ र त्यो मनमा राखेर हिँड्नु हुँदैन, त्यो भावना पापी भावना ल्याउनु हुन्न ।

लोकपथ : सङ्गठनमा त हुन्छ नि त, जस्तै तपाईँको विरोध गर्‍यो भने सेबोटेज नै गर्ने खालको पनि देखिन्छ ।

राजु अर्याल : अँ, त्यो छैन, त्यो मैले कहिल्यै गरिनँ ।

लोकपथ : तपाईँको विरोध गर्ने मान्छेहरूलाई पनि भन्ने गर्नुभएको छ कि तिमी यसकारण छुट्यौ वा यस्तो भयो भनेर ? 

राजु अर्याल : उनीहरूले बुझ्या छन् । मैले के इस्ट्याब्लिस गरिदिएको छु भने यो आईजीले हामीलाई जानेर, मेरो रिस गरेर छुटाउँदैन र छुटाएको होइन भन्ने कुरा तिनीहरूलाई पनि थाहा छ ।

लोकपथ : तपाईँसँग प्रत्यक्ष गुनासो गर्ने आँट चाहिँ गर्थे कि गर्दैनथे ?

राजु अर्याल : गर्छन्, गरिहाल्छन् । गुनासो गर्न त अब आउने भइहाल्छन् त । यो यस्तो यस्तो भन्छ ।

लोकपथ : तपाईँ कन्भिन्स गरेर पठाइदिनुहुन्थ्यो ?

राजु अर्याल : अब कन्भिन्स गर्दा मैले सत्य कुरा भन्दिन्थेँ उनीहरूले मान्थे । त्यसले गर्दा उनीहरू सहज ढङ्गले नै जान्छन् नभए उपाय छैन । मान्छेले के देखेको छ भने म मात्रै क्यापेबल हो भन्ने देखेको हुन्छ । अर्कोको देख्दैन, मैले त दुईवटैको देख्या हुन्छु । यसमा यो कारणले यो भएको हुन सक्ला, तिम्रो यस्तो हुन सक्ला भनेपछि कुरा बुझिहाल्थे नि ।

लोकपथ : होइन यो गर्दा ठिक हुन्छ, हजुर यो चाहिँ राम्रो भएन यसलाई यसो गरौँ भनेर वा तपाईँको यो ठिक छैन भनेर आलोचना गर्दा तपाईँले त्यसलाई सकारात्मक रूपमै लिनुहुन्थ्यो ?

राजु अर्याल : म सधैँ सकारात्मक लिन्छु, मलाई त्यसमा मज्जा लाग्छ । मलाई मिडियाले पनि त्यो भनेको मज्जा लाग्छ । त्यो कस्तो पनि भने कुनै कुरा चाहिँ इन्टेन्सनल्ली गर्न खोजेको रहेछ भने त्यो बेलाचाहिँ अलिकति रिस पनि उठ्ने भो । अब कतिपय कुरा नबुझेर अथवा भएका कमी कमजोरीले लेखेको कुरा त रमाइलो लाग्छ मलाई । सिक्ने नै त्यसै गरी हो । त्यसलाई त एकदम इन्जोय गर्नुपर्छ ।

लोकपथ : तपाईँ एकदम क्विक डिसिजन गर्ने आईजीपी हो । तपाईँलाई छिटो निर्णय गर्ने र कहिलेकाहीँ कुनै कुरा विवादमा आउँदा वा जान अन्जानमा केही गडबड हुँदा पछि पछुताउने आईजीपीको रूपमा बुझ्दा रहेछन् कतिले ।

राजु अर्याल : हैन म पछुताउँदिनँ । म सच्चिन्छु, सच्याउँछु । 

लोकपथ : त्यस्तो चाहिँ गर्नुभएको छ ?

राजु अर्याल : अँ गर्‍या छ । कामको सिलसिलामा निर्णय हुँदा गल्ती हुन्छ, हुन्छ । म १० वटा डिसिजन गर्छु, १० वटै ठिक नहुन पनि सक्छ । किनभने म मान्छे हो नि त । बिग्रिने अवस्था देख्यो भने म सच्याउन पनि सक्छु र सच्याउँछु । त्यसमा मलाई कुनै ग्लानि छैन र हुँदैन । म करेक्सन गर्छु । 

लोकपथ : तपाईँ रिटायर्ड भएर जाँदा गर्वका साथ मैले राम्रो गरेँ भन्न सक्ने अवस्थामा हुनुहुन्छ नि ?

राजु अर्याल : म मान्छे वा व्यक्ति नराम्रो समेत हुँला, त्यो छुट्टै कुरा हो । तर मेरो दिमागले भ्याएको, मेरो बुद्धि विवेकले भ्याएकोमा मैले जानेर केही काम पनि बिगारेको छैन । खुसी साथ मैले राम्रो गरेँ नै भनेर जाँदै छु । एकदम गौरव गरेर जाँदै छु । 

यसअघि प्रकाशित यो पनि

सबै कुरा किनबेचमा हुन्थ्यो भने यहाँ देश बाँकी रहन्नथ्यो : निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

जागिर खाँदा परिवारमा रुवाबासी थियो, जागिर छाड्न दबाब दिन्थे : पूर्व सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

असन्तुष्ट हुने व्यक्तिलाई सेक्युरिटी एजेन्सीमा बस्ने अधिकार रहन्न : पूर्व सशस्त्र महानिरीक्षक अर्याल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?