काठमाडौं । नेटवर्क नक्सामा जम्मु र कस्मिरलाई पाकिस्तानको एकलौटी भूभागभित्र राखेपछि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विवादमा परेको छ । नेपाल एयरलाइन्सको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट बुधबार जहाज उड्ने पोइन्ट इंगित गर्न सार्वजनिक गरिएको नेटवर्क नक्सामा जम्मु र कस्मिरलाई पाकिस्तानको एकलौटी भूभागभित्र राखिएको थियो । यस्तै, स्वतन्त्र मुलुकहरू ताजिकिस्तान र किर्गिस्तानलाई चीनको नक्साभित्र राखिएको थियो ।
नक्सामा भएको तथ्य तोडमोडलाई लिएर नेपाल एयरलाइन्स विवादमा परेको हो । नेपाल एयरलाइन्सले योबारे समीक्षा भइरहेको जनाएको छ भने हिजो सार्वजनिक गरेको नक्सा पनि हटाएको छ ।
नक्सामा अन्तर्राष्ट्रिय सिमानामा भएका गम्भीर त्रुटिहरूले नेपाल सरकार वा नेपाल वायु सेवा निगमको आधिकारिक धारणालाई प्रतिनिधित्व नगर्ने पनि निगमले प्रष्टीकरण दिएको छ ।
बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै नेपाल एयरलाइन्सले भनेको छ, ‘हाम्रा सामाजिक सञ्जालहरूमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ । यस क्षेत्रका हाम्रा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धलाई हामी उच्च सम्मान गर्दछौँ, त्यो पोस्टबाट पर्न गएको कुनै पनि असुविधाप्रति हामी क्षमा चाहन्छौँ ।’
भारत–पाकिस्तानले आफ्नो दाबी गर्दै आएको जम्मु कस्मिरको मुद्दालाई नेपालले द्विपक्षीय विषय मान्दै आएको छ । भारतले सम्पूर्ण जम्मु, कश्मीर र लद्दाखलाई आफ्नो अभिन्न अंग मान्दछ । हाल यसको ठूलो हिस्सा भारत प्रशासित नियन्त्रणमा छ । सन् २०१९ मा भारतले संविधानको धारा ३७० खारेज गरी यसलाई केन्द्र शासित प्रदेश बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया