काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवस कुमारलाई थप चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गरेको छ ।
सन् २०२१ देखि फोनपेको नेतृत्व गर्र्दै आइरहेका दिवसलाई पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो ।
फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरणमा उनको भूमिका रहेको भन्दै दोस्रो कार्यकालका लागि समेत उनलाई जिम्मेवारी दिइएको हो ।
कुमारले बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव बोकेका व्यक्ति हुन् । उनले फोनेपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
कुमारको नेतृत्वमा कम्पनीले पहिलो वर्षमै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप क्युआर भुक्तानी प्रणाली, फोनेपे नेपालको दैनिक वित्तीय जीवनको अभिन्न हिस्सा बन्न सफल भएको कम्पनीको विश्वास रहेको छ ।
डिजिटल कारोबारमा तीव्र वृद्धि हासिल गरिरहेको फोनपेले दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र दैनिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार मूल्य पार गर्न सफल भएको कम्पनीको दाबी रहेको छ ।
सोमबार सीईओमा पुनः नियुक्त भएसँगै उनले कम्पनीले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गरे ।
‘म सञ्चालक समितिले ममाथि देखाएको विश्वास र भरोसाप्रति अत्यन्त आभारी छु । यो नवीकरण केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो नेपालमा डिजिटल भुक्तानी यात्रा अझै सुरुवातमै छ भन्ने हाम्रो सामूहिक विश्वासको पुनः पुष्टि हो । आगामी वर्षहरूमा मेरो ध्यान फोनेपेलाई केवल भुक्तानी नेटवर्क मात्र नभई प्रत्येक नेपालीलाई सेवा दिने पूर्ण वित्तीय प्लेटफर्ममा रूपान्तरण गर्ने हुनेछ । म सञ्चालक समिति, बैंकिङ साझेदार, नियामक नेपाल राष्ट्र बैंक, र सम्पूर्ण फोनेपे टोलीप्रति आभारी छु,’ उनले भने ।
साथै उनले आफ्नो नवीकृत कार्यकालमा प्रमुख रणनीतिक स्तम्भमा ध्यान केन्द्रित गर्ने भन्दै प्रतिवद्धता समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया